दाङ, १६ चैत्र । २० वर्ष उमेर नपुगी गरिने विवाहलाई कानूनी रूपमा अपराध मानिएको छ । तर बालविवाह समाजमा अझै रोकिन सकेको छैन । दाङमा बालविवाह न्यूनीकरणका लागि थुप्रै प्रयास भएपनि बालविवाहको ग्राफ निकै धेरै छ ।
स्वास्थ्य कार्यालय दाङको तथ्यांकअनुसार साढे तीन वर्षको अवधिमा २० वर्ष मुनिका १७ हजार बढीले गर्भजाँच गराएका छन् । दाङमा सूचीकृत स्वास्थ्य संस्थाको तथ्यांकले १७ हजार ५ सय १३ जनाले गर्भजाँच गराएको देखाएको छ ।
अन्य प्राइभेट संस्थामा गर्भजाँच गराउने संख्यालाई भने नसमेटिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । आर्थिक वर्ष ०७६÷०७७ मा पहिलो पटक गर्भवती जाँच गराएका २ हजार ४ सय ६४, चौथो महिनामा गर्भवती जाँच १ हजार ८ सय ७०, प्रोटकलअनुसार चार पटकसम्म गर्भवती जाँच गराएका १ हजार ३ सय ९९ जनाले किशारीले गर्भजाँच गराएका छन् ।
आर्थिक वर्ष ०७७÷०७८ मा पहिलो पटक गर्भवती जाँच गराएका २ हजार ३ सय २४, चौथो महिनामा गर्भवती जाँच १ हजार ७ सय ७१, प्रोटकल अनुसार ४ पटकसम्म गर्भवती जाँच गराएका १ हजार २ सय २१ जनाले किशारीले गर्भजाँच गराएका छन् ।
आर्थिक वर्ष ०७८÷०७९ मा पहिलो पटक गर्भवती जाँच गराएका १ हजार ८ सय ९१, चौथो महिनामा गर्भवती जाँच १ हजार ५ सय ७५, प्रोटकलअनुसार चार पटकसम्म गर्भवती जाँच गराएका १ हजार १ सय ५८ जनाले किशारीले गर्भजाँच गराएका छन् ।
चालु आर्थिक वर्षको पुससम्ममा पहिलो पटक गर्भ जाँच ७ सय ६१, १२ हप्तासम्मको ४ सय ५४, चार पटकसम्म १६, २०, २४, ३२ र ३६ हप्तासम्मको ५ सय १९ र ८ पटक (प्रोटोकलअनुसार ) १ सय ६ जना किशोरी गर्भजाँच गराएको स्वास्थ्य कार्यालय दाङको तथ्याङ्कले देखाएको छ ।
स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्बर बहादुर कँवरका अनुसार अधिकांश किशोरी १४ वर्षदेखि १६ वर्षकै उमेरमा विवाह गर्ने गरेका छन् । स्थानीय पालिकाले बालविवाह न्यूनीकरणको लागि धेरै कार्यक्रम ल्याए पनि प्रभावकारी नभएको उहाँको भनाइ छ ।
घोराही उपमहानगरले अहिले १९ वडामा बाल क्लव गठन गर्ने, किशोरकिशोरीहरूको बाल सञ्जालको माध्ययमबाट विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । टोलहरूमा अभिभावकहरूलाई सचेत बनाउने काम भइरहेको घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरूलाल चौधरीले बताउनुभयो ।
अभिभावकहरूलाई कम उमेरमा बिहे गरेमा आर्थिक रूपमा कमजोर हुने, शारीरिक रूपमा कमजोर हुने, पारिवारिक रूपमा हेलाको पात्र हुने शिक्षाको पहुँचमा नपुग्ने लगायतकोे कुरामा सचेत गराउँदै आएको चौधरीले बताउनुभयो ।