
दाङ, १५ चैत । दाङमा अझै पनि २ हजार ५ सय बढी घर परिवार खोला तथा झरनाको पानी पिउन बाध्य छन् । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार जिल्लामा १ दशमलव ६ प्रतिशत अर्थात २ हजार ५ सय ६६ घर परिवार अझै पनि खोलाकै पानीबाट गुजारा चलाउन बाध्य भएका हुन् ।
तथ्यांक अनुसार कुल १ लाख ६२ हजार २६६ घर परिवारमध्ये ४० दशमलव ४ प्रतिशत अर्थात ६५ हजार ४८० घर परिवारले मात्रै नीजि धाराको पानी प्रयोग गर्ने गरेका छन् । यस्तै १५ दशमलव ८ प्रतिशत अर्थात २५ हजार ६१८ घर परिवारले सार्वजनिक धाराको पानी प्रयोग गर्ने गरेका छन् ।
जिल्लामा १६ प्रतिशत अर्थात २५ हजार ९२६ घर परिवारले ढाकिएको इनार/कुवाको पानी प्रयोग गर्ने गरेको देखिएको छ । यस्तै १२ दशमलव १ प्रतिशत अर्थात १९ हजार ६८१ घर परिवारले ट्यूवेल तथा हाते पम्पको पानी प्रयोग गर्ने गरेका छन् ।
यस्तै १० दशमलव २ प्रतिशत अर्थात १६ हजार ६१० घर परिवारले खुल्ला इनार तथा कुवाको पानी प्रयोग गर्ने गरेको देखिएको छ । यस्तै २ दशमलव ९ प्रतिशत अर्थात ४ हजार ६७१ घर परिवारले मुल धाराको पानी प्रयोग गर्ने गरेका छन् । यसैगरी ० दशलव ३ प्रतिशत अर्थात ५ सय ४ घरमा जार तथा बोतलको पानी प्रयोग हुने गरेको छ भने ० दशमलव ७ अर्थात १ हजार २१० घरमा अन्य पानी प्रयोग गर्ने गरिएको छ ।