दाङ, १२ चैत । नेपालमा अझै पनि ५१ प्रतिशत परिवारले भान्सामा दाउराको प्रयोग गर्ने गरेको पाइएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको नतिजाले अझै पनि देशका कुल परिवार मध्ये आधाभन्दा बढी अर्थात ५१ प्रतिशत परिवारले खाना पकाउन काठ वा दाउरा प्रयोग गर्ने गरेको देखाएको हो ।
खाना पकाउन एलपी ग्यास प्रयोग गर्नेको सङ्ख्या ४४ दशमलव ३ प्रतिशत र बिजुलीबाट खाना पकाउने परिवारको सङ्ख्या ० दशमलव ५ प्रतिशत रहेको पनि तथ्याङ्कमा उल्लेख छ । गुईठा र गोरहाबाट खाना पकाउने परिवार २ दशमलव ९ प्रशित रहेको छ ।
यस्तै बायोग्याँस प्रयोग गरेर खाना बनाउने परिवार संख्या १ दशमलव २ प्रतिशत रहेको छ । मट्टितेलबाट शून्य दशमलव ०५ प्रतिशत र अन्य इन्धन प्रयोग गरी खाना बनाउने परिवार संख्या ० दशमलव १ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार ६४ प्रतिशतले परिवारले खाना पकाउन दाउरा प्रयोग गर्ने गरेकोमा १० वर्षमा दाउराबाट खाना बनाउने परिवार १३ प्रतिशतले घटेको पाइएको छ ।