
दाङ, १० चैत । तुलसीपुर-नेपालगञ्ज सडकखण्डमा विद्युतीय गाडी सञ्चालनमा आएको छ । दाङको सबैभन्दा ठूलो र पुरानो त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिले पहिलो पटक विद्युतीय गाडी पनि सञ्चालनमा ल्याएको हो ।
प्रालिका अध्यक्ष सुरेश हमालले सार्वजनिक यातायातका क्षेत्रमा पहिलो पटक शुक्रबारदेखि विद्युतीय गाडीले सेवा दिन थालेको जानकारी दिनुभयो ।
अध्यक्ष हमालका अनुसार पहिलो चरणमा विद्युतीय गाडीले तुलसीपुरदेखि नेपालगञ्जसम्म सेवा प्रदान गर्नेछ । अहिले एउटा मात्रै गाडीबाट सेवा सुरुवात गरिएको र यात्रुको चाहाना अनुसार आगामी दिनमा गाडी थप गरेर सेवा दिने अध्यक्ष हमालले बताउनुभयो ।
१३ जना यात्रु क्षमता भएको उक्त गाडी वातावरणमैत्री रहेको छ । गाडीको भाडा पाँच सय रुपियाँ तय गरिएको छ । प्रालिले पहिलो पटक विद्युतीय गाडी सञ्चालनमा ल्याएको हो ।
गाडी तुलसीपुरबाट बिहान ९ बजेर ५० मिनेटमा नेपालगञ्ज छुट्ने छ भने दिउँसो ३ बजे नेपालगञ्जबाट फर्किने छ । गाडी धनी विमल पौडेलले धुवा मुक्त र इन्धन वचत हुने भएपछि विद्युतिय गाडी सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।
व्यक्तिगत रुपमा विद्युतीय गाडी सञ्चालन भइरहे पनि सार्वजनिक गाडी भने जिल्लामा पहिलो पटक संचालनमा आएको हो ।