तुलसीपुर, ५ चैत ।
दाङको तुलसीपुरमा जंगली जनावर बाँदरले मानिसलाई आक्रमण गर्न थालेको छ । घरपालुवा कुकुर, बिरालोको तुलनामा पछिल्लो समय जंगली जनावर बाँदरको आक्रमण बढ्न थालेको हो ।
घरपालुवा तथा जंगली जनावरले मानिसलाई आक्रमण गर्न थालेपछि अस्पतालमा रेबिजविरुद्धको सुई लगाउन आउनेको संख्या बढ्दै गएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा १९ दिनको अवधिमा कुकुर, बिरालो र बाँदरले टोेकेका १ सय ३ जना मानिसले रेबिजविरुद्धको सुई लगाएका छन् ।
अस्पतालमा फागुन १६ देखि चैत ३ गतेसम्म १९ दिनको अवधिमा कुकुर, बिरोल र बाँदरले टोकेका १०३ जनाले रेबिजविरुद्धको सुई लगाएका हुन् ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. ओम अर्यालले पछिल्लो समय बाँदरको टोकाईबाट घाइते बिरामी अस्पताल आउन थालेको बताउनुभयो । जंगलमा खानेकुरा नपाएपछि वस्तीमा आएर मानिसलाई जंगली जनावरले आक्रमण गर्ने गरेको प्रमुख अर्यालले बताउनुभयो ।
बाँदरले मानिसलाई तुलसीपुरको बजारमै टोकेको अस्पतालले जनाएको छ । तुलसीपुरमा माघदेखि चैत ५ गतेसम्म ३६ जनालाई बाँदरले टोकेको छ । माघमा २३, फागुनमा ८ र चैतमा ५ जनालाई बाँदरले टोकेको हो । बाँदरले वस्तीमै आएर आक्रमण गर्न थालेपछि स्थानीय नागरिक त्रसित भएका छन् ।