दाङ, २५ फागुन । तुलसीपुर-६ गोलौरा निवासी चिन्तामणी रेग्मी र उहाँको आमा डिला रेग्मीले जन्मदिनको अवसरमा बालबालिकालाई विद्यालय पोषाक वितरण गर्नुभएको छ ।
दुवै जना आमा र छोराले बिहिबार (फागुन २५ गते आज) जन्मदिनको अवसरमा तुलसीपुर-७ मावि कालाखोलामा रहेको अपांगता अध्ययन केन्द्रका अशक्त तथा असहाय बालबालिकालाई पोषाक सहयोग गर्नुभएको हो ।
जन्मदिनमा फजुल खर्च गर्ने प्रवृति बढ्दै गएको समयमा आमा-छोराले १६ जना बालबालिकालाई पोषाक वितरण गर्नुभएको हो ।
प्युठानको सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत समेत रहनुभएका छोरा चिन्तामणी रेग्मीले जन्मदिनमा खानपिन गरेर फजुल गर्नुभन्दा अशक्त बालबालिकालाई सहयोग गर्दा बढी आत्मसन्तुष्टी प्राप्त गरेको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबहादुर जिसीको अध्यक्षता तथा मानवअधिकारकर्मी शुसिल बस्नेतको प्रमुख आतिथ्यतामा बालबालिकालाई पोषाक सहयोग कार्यक्रम गरिएको हो ।
त्यस अवसरमा वडा अध्यक्ष जिसीले जन्मदिनमा बालबालिकालाई पोषाक वितरण गर्नु असल कर्म भएको भन्दै आमा र छोरा दुवै जनालाई जन्मदिनको शुभकामनासंगै धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले दुवै जनाको असल कर्मले समाजमा सहयोगी भावनाको विकासमा थप टेवा पुगेको बताउनुभयो । मानवअधिकारकर्मी शुसिल बस्नेतले जन्मदिनमा गरिएको असल कर्मले अशक्त बालबालिकालकालाई असल मार्गमा लैजाने बताउनुभयो ।
कार्यक्रममा मावि कालाखोलाका प्रधानाध्यापम राजिव ओझा, रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल लगायतले उहाँहरुको जन्मदिन मनाउने शैलीले समाजमा सहयोगी भावनाको विकास गराएको बताउनुभयो । कार्यक्रमको सहजीकरण केन्द्रका व्यवस्थापक यज्ञ बहादुर विकले गर्नुभएको हो ।
उहाँले बिगतका वर्षमा पनि जन्मदिनमा विभिन्न बेसहारा बालबालिकालाई सहयोग गर्नुभएको थियो ।