सिमरा, १३ मंसिर । काठमाडौंबाट सिमरा आएको बुद्ध एयरको जहाज मंगलबार दिउँसो सिमरा विमानस्थलमा अवतरण नगरी पुनः काठमाडौं फर्कियो ।
ल्याण्डिङ गेयरमा समस्या देखिएपछि जहाज सिमराको आकाशमा चार फन्को लगाएर पुनः काठमाडौं पुग्यो।
सिमरामा ल्याण्ड गर्न नसकेको जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सहजै अवतरण गर्यो। उक्त जहाजको यात्रुलाई अर्को विमानमा चढाएर पुनः सिमरा ल्याएर छाडियो।
यसबीचमा जहाजको तर्फबाट प्राविधिक गडबडीका कारण समस्या आएको जानकारी यात्रुलाई दिइयो।
तर काठमाडौंबाट सिमरा फर्कनका लागि दिउँसो १ः४० बजेको टिकट लिएर साँझ करिब ६ बजे सिमरा विमानस्थल ओर्लँदासम्मको समय भने यात्रुका लागि निकै कहालीलाग्दो बन्यो।
बुद्ध एयरको उडान नम्बर यु४ ५५५ नम्बरको जहाजमा प्राविधिक समस्या देखिँदा समस्या आएको हो।
विमानभित्रै रहेका बाराका पत्रकार श्यामबाबु यादवले अत्यन्तै त्रासदीपूणर् वातावरणको साक्षी बन्नुपरेको सुनाउनुभयो । उडान समयभन्दा झण्डै एक घण्टा ढिला उडेको जहाज सिमरा विमानस्थलमाथी चार फन्को लगाएर पुनः काठमाडौं फर्कदा यात्रुहरू निकै त्रसिद हुन पुगेको यादवले बताउनुभयो ।
विमान काठमाडौं फर्काइएपछि यात्रुहरूमा रुवाबासी चलेको र पुनः सिमरा ल्याएर छाडिएपछि मात्रै राहतको सास फेरेको यादवको भनाइ थियो ।
‘सिमरा आइपुगेपछि अरू बेला जस्तै अवतरण हुन्छ भन्ने सोच्यौं। तर प्राविधिक कारणले अवतरण गर्न नसकिएको जानकारी पायौं’ यादवले भन्नुभयो ‘चार पटकसम्म आकाशमै घुमाइयो। त्यसपछि पनि अवतरण गर्न नसकेपछि जहाज काठमाडौंतर्फ मोडियो।’
यसबीचमा चालकले विमानलाई सिमरामै अवतरण गराउने थुप्रै प्रयास गरेपनि सफल नभएको उहाँले बताउनुभयो ।
‘करिब २० मिनेट जति एकै ठाँउमा विमानलाई होल्ड गरेर समेत राखियो’ यादवले भन्नुभयो ‘तरपनि सम्भव नभएर होला विमानलाई सकुशल काठमाडौं फर्काउने काम भयो। काठमाडौंमा भने अवतरण गर्ने बेला कुनै समस्या देखिएन।’
काठमाडौं अवतरण गराएलगत्तै यात्रुलाई अर्को जहाजमा चढाएको र एक घण्टाभन्दा बढी समय विमानमै राखेर सिमरा ल्याएको यादवले बताउनुभयो ।