तुलसीपुर, २ कार्तिक ।
दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर लोक नृत्य तथा लोक दोहोरी एवं साँस्कृतिक मेलामा दिनदिनै रौनक बढ्दै गएको छ । मेलामा आज पनि चर्चित गायिका प्रिती आले लगायत राष्ट्रिय तथा स्थानीय कलाकार आउने मेला आयोजक मितेरी युवा क्लबका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिनुभयो ।
हिजो चर्चित गायिका एलिना चौहान, चर्चित गायक कृश क्षेत्र, लोक गायिका अणु राना मगर, गोमा रिजाल, विपना परियार लगायत स्थानीय कलाकारले धमकेदार प्रस्तुती राखेका थिए ।
असोज २८ गते शुक्रबारदेखि जारी मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती राखिरहेका छन् । मेलामा दिनप्रतिदिन दर्शकको संख्या बढ्दै गएको छ । मेलामा लोक नृत्य प्रतियोगिताको लागि अडिसन पनि संचालन भइरहेको छ ।
स्थानीय कला संस्कृतिका संरक्षण गरी नवप्रतिभाको उजागर गर्ने उद्देश्यका साथ शुक्रबारदेखि संचालन भएको मेला कातिक ११ गतेसम्म संचालन हुनेछ ।
कार्यक्रममा लोक दोहोरी र नृत्य प्रतियोगिताका साथै अन्य विविध साँस्कृतिक कार्यक्रम संचालन भइरहेको छ । नृत्य प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार पुरस्कार प्राप्त गर्ने उहाँले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को पातुखोला पुलको उत्तरतर्फ मेला संचालन भइरहेको छ ।