दाङ, २२ असोज ।
अविरल वर्षासँगै गएको पहिरोबाट दाङको लमही-घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ । पहिरोले लमही-घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत लमहीन गरपालिका-६, बेल्दमारस्थित १८ नम्बर टावर ढालेको हो ।
प्रसारण लाइन ढलेपछि त्यस क्षेत्रको विद्युत आपूर्ति बन्द भएको थियो । प्राधिकरणले अहिले वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई विद्युत दिएको छ । प्राधिकरणले हापुरे सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनबाट लमही, घोराहीलगायत क्षेत्रका घरायसी ग्राहकलाई विद्युत दिएको छ ।
त्यस क्षेत्रमा धेरै विद्युत खपत गर्ने सिमेन्ट उद्योगहरु सञ्चालित छन् । वैकल्पिक व्यवस्था गर्दा पनि ती उद्योगहरुलाई बिजुली दिन अपुग भएको छ । प्राधिकरणले लमही-घोराही १३२ केभी प्रसारण लाइनको टावर नै ढलेपछि आपतकालीन पुर्नस्थापना प्रणाली (ईआरएस) अन्तर्गत रहेको टावर जडान गरी विद्युत आपूर्ति दिने छ ।
ईआरएस टावर जडानका लागि सर्वेक्षण गरी टोली खटाइएको छ । टावर जडान गर्न केही दिन लाग्ने प्राधिकरणले जनाएको छ । ईआरएस टावर जडान भएपछि उद्योगहरुले पनि बिजुली पाउने छन् ।
लमही-घोराही सडकखण्डमा रुखसहित झरेको पहिरोका कारण यातायात सेवा अवरुद्ध छ । बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।