२०८१ माघ २ गते बुधवार

सुध्रिएन मासु बजार : व्यवसायीका पनि गुनासा

तुलसीपुर, ११ असोज ।
झिंगा भन्केका छन् ।

फलामको तारमा मासु झुण्ड्याइएको छ ।

न बध गर्ने ठाउँ सफा छ ।

न त मासु बिक्रि गर्ने ठाउँ नै ।

यो तुलसीपुरको मासु बजारको अवस्था हो । तुलसीपुरको बसपार्कको उत्तरतर्फ रहेको मासु बजार अवस्था दयनिय छ ।

तुलसीपुर सहरकै एकमात्र बजारमा सरसफाई पुरानै समस्या हो । चाडपर्वको समयमा हुने मौसमी अनुगमनले मासुबजारको सरसफाई सुधार हुन सकेको छैन् ।

तुलसीपुर उपमहानगरपालिकाले मासु व्यवसायलाई व्यवस्थित गर्न बनाएको मासु बजारमा फोहोर व्यवस्थापन सहि ढंगले हुन सकेको छैन् भने व्यवसायीले पनि व्यवस्थितरुपमा मासु बिक्रि गर्न सकेका छैन् । केहि मासु पसलबाहेक अधिकांश मासु पसलमा सरसफाईको कमी देखिएको छ ।

विषेशगरी भैसी, राँगा , सुंगुर , बंगुरको मासु बिक्रि गर्ने व्यवसायीले व्यवस्थितरुपमा बिक्रि गर्न नसकेको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले बताईन् । ‘मासु व्यवसायीले सुधार गर्नुहोला भनेर हामीले विभिन्न समयमा अनुगमन गर्ने गरेका छौँ ।’ उनले भनिन्-‘कार्बाही गर्नुभन्दा पनि सकेसम्म सहजरुपमै आफै आफ्नो व्यवसायलाई सुन्दर बनाउने व्यवसायीको कर्तव्य हो ।’


मंगलबार पनि उपमहानगरपालिकाका नगरउपप्रमुख स्यानी चौधरीसहितको अनुगमन टोलीले मासु बजार अनुगमन गरेको हो । जनप्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधि, पशु शाखाका प्रतिनिधि, उपभोक्ता अधिकारकर्मी, सुरक्षाकर्मी लगायतको टोलीले अनुगमन गरेको हो ।

मासुबजारको अनुगमन पहिलो पटकभने गरिएको होइन् । यसअघि पनि विभिन्न समयमा अनुगमन भएपनि नतिजा सुधारात्मक देखिएको छैन् ।

मासु व्यवसायीले उपमहानगरको वेवास्तामा मासु बजार परेको गुनासो गर्छन् । मंगलबार बिहान पुगेको अनुगमन टोलिसंग पनि मासु व्यवसायीले नगरले मासु व्यवसायलाई व्यवस्थित गर्न नसक्दा आफुहरु मारमा परेको मासु व्यवसायी निमबहादुर डाँगीले बताए ।

‘तुलसीपुर बजारमा मासु व्यवसायलाई व्यवस्थित गर्न भनेर हामीलाई मासु बजारमा राख्यो तर पछिल्लो समय मासु पसल बजारका भित्रभित्र ठाउँ-ठाउँमा संचालनमा आए तर यसप्रति नगरले चासो दिन सकेन ।’ उनले भने-‘मासु बजार व्यवस्थित गराउन यसअघिका जनप्रतिनिधिले चासो दिएनन्, अब त नयाँ जनप्रतिनिधि आएका छन्, तुलसीपुरको मासु बजार व्यवस्थित हुने आशामा हामी छौँ ।’

उनले बजारका विभिन्न स्थानमा मासु व्यवसाय संचालन गर्दा मासुबजारका व्यवसायी समस्यामा परेको बताए । ‘मासु बजार व्यवस्थित नहुँदा हामीहरु मारमा परेका छौँ ।’ उनले भने-‘बजारको बिचमै मासु व्यवसाय संचालन भएपछि ग्राहक मासु बजारसम्म कसरी आउँछन् त ?’ उनले मासु व्यवसाय व्यवस्थिरुपमा संचालन गर्नुपर्ने व्यवसायीको दायित्व भएको बताए । ‘व्यवसायलाई सुन्दर र व्यवस्थित बनाउने हाम्रो दायित्व हो ।’ उनले भने-‘उपमहानगरले पनि व्यवसायीका समस्या सुनिदिनपर्छ ।’

मासु बजारको बधशाला पनि व्यवस्थित छैन् । व्यवसायीले बधशालाको पनि उचित व्यवस्थापन गरिदिन नगरसंग आग्रह गरेका छन् । मंगलबार मासु बजारमा पुगेको अनुगमन टोलीसंग उनीहरुले बधशालाको व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

यसैबिच मासु व्यवसायलाई एकिकृतरुपमा संचालन गर्नका लागि बुधबार बिहान ७ बजे सरोकारवालासंग छलफल गरिने भएको छ । नगरउप्रमुख तथा बजार व्यवस्थापन संयोजक स्यानी चौधरीले तुलसीपुरमा मासु व्यवसाय संचालनका लागि सरोकारवालासंग सुझाव लिने बताइन् । ‘नगरको मागदण्डभित्र मासु पसल संचालन हुन्छन् ।’ उनले भनिन्-‘बुधबार सरोरकारवाला संग छलफल गरेपछिमात्रै निश्कर्ष आउने छ ।’

प्रकाशित मिति : २०७९ असोज ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस