२०८१ बैशाख ११ गते मङ्गलवार

नेपालीको महानचाड बडादशैँ आजबाट शुरु


दाङ, १० असोज ।
नेपालीहरूको महानपर्व बडादसैं आजबाट सुरु भएको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन आज बिहान घरघरमा जौ, मकै , गहुँ आदिको जमराराखी घटस्थापना गरेपछि यसपालिको दसैं सुरु हुनेछ ।

धेरैले बिहानको समयमा घटस्थापना गर्ने भएपनि साइतै खोज्नेहरूका लागि भने नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि बिहान १० बजेर २३ मिनेटको शुभसाइत तोकेको छ ।

फुर्सद हुने र साइत खोज्नेले बिहान १० बजेर २३ मिनेटकोे शुभ समयमा जमरा राखेर घटस्थापना गर्दा राम्रो हुने समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो । उहाँले बिहानको समयमा घटस्थापना गर्दा पनि राम्रो हुने बताउनुभयो ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो नेपालीको पर्व दसैंलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ । घटस्थापनाको दिन पूजाकोठा, दसैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । कतैकतै भने ब्रह्माको पनि स्थापना गरिन्छ । घटस्थापनाका दिन पूजा कोठामा घंैटो अथवा घडामा जलभरि माथिपटि आँप, चाप, वरपिपलको पात राख्ने परम्परा छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ ।

कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा या माटोमा जौ छरिन्छ । बिहानै उठेर नुहाइधुवाइ गरी चोखो भएर पूजाकोठामा बालुवा अथवा चोखो माटो राखी जौ र मकैको बीउ उमार्ने गरिन्छ, । त्यही नजिकै थालीमाथि सुनको प्रतिमा राखी नवदुर्गा थाप्दै १० दिनसम्म पूजा गर्ने गरिन्छ । कहीँकहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ ।

जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । समितिका अनुसार असोज १९ गते बुधबार विजया दशमीका दिन टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ ।

प्रकाशित मिति : २०७९ असोज १० गते सोमवार
प्रतिक्रिया दिनुहोस