२०८१ चैत्र ७ गते बिहिवार

दाङमा सवारी दुर्घटनामा वर्षेनी मानविय क्षति : बितेको वर्षमा ९५ जनाको मृत्यु

दाङ, २ भदौ ।
दाङमा सवारी दुर्घटनामा हुने मानविय क्षति वर्षेनी बढ्दै गएको छ । सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक सचेतना, मापदण्ड विपरित सवारी चलाउनेलाई कार्बाही लगायतका कामहरु भएपनि दुर्घटनामा वर्षेनी मानविय तथा भौतिक क्षति हुने गरेको छ ।

जिल्लामा बितेको आर्थिक वर्ष २०७८/०७९ मा दुई सय तीन सवारी दुर्घटना हुँदा ९५ जनाको मृत्यु भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा २७९ वटा दुर्घटना हुँदा ७७ जनाको मृत्यु भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार बितेको आर्थिक वर्षमा दुुई सय ८२ सवारी साधन दुर्घटनामा परी एक सय ९५ गम्भीर घाइते भएका छन् ।

दुर्घटना हुने सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको छ । एक वर्षको अवधिमा एक सय ३८ मोटरसाइकल दुर्घटनामा भएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा छ । यस्तै बस २७, ट्याक्टर १६, जीप तथा कार ३२ वटा दुर्घटनामा परेका छन् । त्यस्तै टेम्पो तथा अटोरिक्सा १८, ट्रक १७, टिपर १२, माइक्रोबस दुई, साइकल १९, डोजर १२ वटा छन् ।

ट्राफिक प्रहरीका अनुसार सबैभन्दा बढी तीव्र गतिबाट एक सय ४४, मादक पदार्थ सेवन गरेर चलाउँदा २३, चालकको लापरबाही बाट १५, यात्रुको गल्ती ४, सडकको अवस्थाका कारण ३, यान्त्रिक गडबडी ७, उछिन्दा ३, मौसमका कारण एक दुर्घटना भएका छन् ।

जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख झवीन्द्र परियारले तीव्र गतीमा गाडी चलाउनु, सवारी साधन चुस्त (दुरुस्त नराख्नु, सडकको अवस्थाबारे जानकारी नलिनु, मापसे लगायत कारण दुर्घटना बढेको बताउनुभयो ।

प्रकाशित मिति : २०७९ भाद्र २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस