२०८१ मङ्सिर २३ गते आइतवार

दाङमा एक हजार बढी उद्योग व्यवसाय बन्द


दाङ, ३२ असार ।
दाङमा दुई वर्षको अवधिमा एक हजार बढी उद्योग व्यवसाय बन्द भएका छन् । कोरोना महामारी शुरु भएयता विभिन्न कारणले जिल्लामा १ हजार ४७ उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ ।

बैंकले कर्जा प्रवाहमा रोक लगाउँदा, उत्पादनको बजारीकरण सहज नहुँदा र जनशक्तिको व्यवस्थापनमा समस्या हुँदा साना उद्योग र विभिन्न प्रकृतिका व्यवसाय धरापमा परेको घरेलु तथा साना उद्योगको कार्यालय दाङका उद्योग अधिकृत उमबहादुर वलीले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार आर्थिक वर्ष ०७७÷०७८ मा ४ सय ८७ र चालु आर्थिक वर्षमा ५ सय ६० उद्योग, व्यवसाय बन्द भएका छन् । दाङमा हालसम्म १० हजार ९ सय ४६ उद्योग दर्ता भएको तथ्यांक छ भने १२ हजार ४३६ फर्म दर्ता भएको देखिएको छ ।

जिल्लामा चालु वर्षमा एक हजार ८ सय ७१ जना उद्योगी थपिएका छन् भने थपिएका उद्योगमा ६ हजार ४२ जनाले रोजगारी पाएका छन् ।

प्रकाशित मिति : २०७९ असार ३२ गते शनिवार
प्रतिक्रिया दिनुहोस