तुलसीपुर, १४ कात्तिक । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको २९औँ साधारण सभा शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ। सभामा मानव अधिकारको संरक्षण, विधिको शासन, लोकतान्त्रिक मूल्य–मान्यता तथा जलवायु न्यायका विषयमा छलफल गरिएको छ।
शाखाका सभापति कोमल डिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुलसीपुरका उद्योगपति तथा तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष उधोगपती तथा प्रमुख अतिथि डिल्लीबहादुर बस्नेतल्ेदेशमा विभिन्न राजनीतिक व्यवस्था परिवर्तन भए पनि विधिको शासन स्थापित हुन नसकेको वताउनुभयो गर्नुभयो। लोकतन्त्रको वास्तविक अनुभूति नागरिकले गर्न पाउनुपर्ने भन्दै उहाँले कानुनी शासन, मानव अधिकारको सम्मान र जवाफदेहितालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव एवं प्रमुख वक्ता प्रकाश शाहीले मानव अधिकारको संरक्षण, शान्ति स्थापना र लोकतान्त्रिक संस्कारको विकासमा नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले मानव अधिकारका सवालमा सबै पक्ष जिम्मेवार र सचेत हुनुपर्ने धारणा राख्नुभयो।
साधारण सभामा मानव अधिकार तथा शान्ति समाजका निवर्तमान केन्द्रीय सचिव निर्मल नेपालीले ‘जलवायु न्याय हाम्रो अधिकार’ विषयमा अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो। अवधारणा पत्रमा जलवायु न्यायका लागि शान्ति समाजको अभियान, ‘हिमालयको गर्भमा हलचल’, ‘संवेदनशील हिमालय’, ‘हिमालको काखमा नेपाल’, जलवायु परिवर्तन, विश्वव्यापी उष्णता र हिमालयको भविष्यलगायतका विषय समेटिएका थिए।

त्यसैगरी जलवायु न्याय, क्षतिपूर्ति र नेट जिरो लक्ष्य हासिल गर्ने सन्दर्भ, विनाशबाट बच्ने रणनीति निर्माणमा विलम्ब नगर्नुपर्ने आवश्यकता, नदी किनाराका बस्तीहरूको वर्गीकरण तथा पुनर्वास, जलवायु संस्कृतिको प्रवर्द्धन र विद्यमान जीवनशैलीको पुनरावलोकन गर्नुपर्ने विषयमा अवधारणा पत्रमार्फत ध्यानाकर्षण गराइएको थियो।
सभामा प्रस्तुत सचिवको प्रतिवेदनमा मानव अधिकार तथा शान्ति समाजको स्थापना, आर्थिक नीति र विभिन्न अभियानबारे उल्लेख गरिएको थियो। २०५३ जेठ १९ गते स्थापना भएको समाजले कुनै पनि सरकारी तथा गैरसरकारी पक्ष र सुर्तीजन्य तथा मदिराजन्य उद्योगबाट आर्थिक सहयोग नलिने नीति अवलम्बन गर्दै आएको प्रतिवेदनमा उल्लेख छ।
आर्थिक स्रोतको सीमितताका बाबजुद शुभेच्छुकहरूको सहयोगबाट विभिन्न कार्यक्रम तथा अभियान सञ्चालन गर्दै आएको पनि प्रतिवेदनमा जनाइएको छ।
प्रतिवेदनमा गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको विनाशकारी विपद्को प्रसङ्गसमेत उठाइएको छ। उक्त विपद्मा ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै मानव अधिकार तथा शान्ति समाजले यसलाई जलवायु परिवर्तनको असरबाट सिर्जित विपद्का रूपमा व्याख्या गरेको छ। जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिम न्यूनीकरण तथा प्रभावित नागरिकको जीवन र अधिकारको संरक्षणमा राज्य गम्भीर हुनुपर्ने विषयमा समेत जोड दिइएको छ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका कर्णाली प्रदेश सचिव दिल्लीप्रसाद जैसीको पर्यवेक्षण रहेको थियो। साधारण सभामा तुलसीपुर क्षेत्रका विभिन्न संघसंस्थामा आबद्ध अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा अमृत शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण मानव अधिकार तथा शान्ति समाज दाङ शाखाका सचिव माधव बस्नेतले गर्नुभएको थियो।
मानव अधिकारको संरक्षण, शान्ति, लोकतन्त्र, विधिको शासन र जलवायु न्यायका सवालमा निरन्तर आवाज उठाउँदै आएको समाजले आगामी दिनमा पनि आफ्ना अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।


