दाङ, १९ असोज । दाङमा बस र अटो ठोक्किदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार देउखुरीस्थित लमही नगरपालिका–३ मजगाउँ चोकमा यात्रुवाहक बस र अटो एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा प्युठानको सरुमारानी गाउँपालिका–५ हात्तिखालकी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमै मगरको मृत्यु भएको हो । उनीहरु नाताले मावली घरकी हजुरआमा र नातिनी हुन् ।
दुर्घटनामा तीन जना घाइते भएका छन् । दुर्घटनामा परी अटो चालक तथा मृतक शिशुका बुवा प्यूठानको सरुमारानी गाउँपालिका– ५ पाखापानीका ३३ वर्षीय जीतबहादुर पल्ली मगर, उहाँकी २० वर्षीया श्रीमती संगिता सोमै मगर र नौबहिनी गाउँपालिका–८ लुप्लुङका २८ वर्षीय गोपाल अधिकारी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये संगिताको अवस्था गम्भीर छ भने उहाँका श्रीमानको अवस्था मध्यम छ । प्रहरीका अनुसार उनीहरूका दम्पतीलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।
मध्यम अवस्थाका अधिकारीको भने लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रमेश तिमिल्सिनाका अनुसार दिउँसो पौने ४ बजेतिर यो दुर्घटना भएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ह १५७१ नम्बरको अटो र भालुवाङबाट लमहीतर्फ आउँदै गरेको लु.प्र.०२–००१ ख ०१११ नम्बरको यात्रुबाहक बस लमही नगरपालिका–३ मजगाउँ चोकमा ठोक्किएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार छोरीको उपचार लागि उनीहरू प्युठानबाट आएर उपचारपछि लमही बजारबाट प्युठान फर्किने क्रममा दुर्घटनामा परेका थिए ।


