दाङ, १७ असोज । तुलसीपुरमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा रा ३ प ७५६ नम्बरको मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ निवासी ५८ वर्षिय तेज बहादुर डाँगीको मृत्यु भएको हो ।
गम्भिर घाइते भएका डाँगीको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा शनिबार (आज) दिउँसो निधन भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–१८ चौवाखोलामा शनिबार बिहान दुई मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।
तुलसीपुरबाट मनिकापुरतर्फ जाँदै गरेको लु.प्र.०२–००२ प ५२९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट चौवाखोलातर्फ आउँदै गरेको रा ३ प ७५६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा लु.प्र.०२–००२ प ५२९० नम्बरको मोटरसाइकल चालक तुलसीपुर–१८ निवासी ३५ वर्षीय तिलक वली घाइते हुनुभएको छ । वली उपचारपछि डिस्चार्ज भइसकेको र इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


