अमृतकाजी शर्मा
तुलसीपुर, ९ असोज । नेपाल लेखापढी व्यवसायी एसोसिएसन, इकाइ समिति तुलसीपुरको १२औँ वार्षिक साधारणसभा शुक्रबार तुलसीपुरमा सम्पन्न भएको छ।
इकाइ समितिका अध्यक्ष विनोद न्यौपानेको अध्यक्षता तथा मालपोत कार्यालय तुलसीपुरका कार्यालय प्रमुख शान्तराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागी लेखापढी व्यवसायीहरूले विभिन्न बहानामा आफूहरूको पेशा संकटमा पार्न खोजिएको भन्दै गुनासो गरेका थिए।
कार्यक्रममा बारका प्रतिनिधि अधिवक्ता बसन्त केसीले राज्यले लेखापढी कानुन व्यवसायीहरूका लागि अदालतबाट पुनः नवीकरण गर्ने प्रावधान ल्याएकाले व्यवसायीहरूलाई सहज हुने बताउनुभयो। यसबाट सुशासन कायम गर्न सहयोग पुग्नुका साथै व्यवसायीहरूको आधिकारिकता पनि स्थापित हुने उहाँको भनाइ थियो।
विशिष्ट अतिथि नेपाल लेखापढी व्यवसायी एसोसिएसन लुम्बिनी प्रदेशका संयोजक हरिलाल पौडेलले ‘जेन–जी’ आन्दोलनपछि अस्तव्यस्त बनेका इकाइ समितिहरूलाई स्थापित र व्यवस्थित गर्न आफू लागिपरेको बताउनुभयो। सरकारले स्थानीय तहमा मालपोत कार्यालय लैजाने विषय अघि सारेपछि लेखापढी व्यवसायीहरूमा अन्योल सिर्जना भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो।
डकुमेन्टेसनका विषयमा मालपोत कार्यालयले केही सहजता ल्याइदिए सेवाग्राहीको काम गर्न व्यवसायीहरूलाई समेत सहज हुने पौडेलले बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि भूमि प्रशासन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख शान्तराज गौतमले कर्मचारी र लेखापढी व्यवसायीलाई समाजले हेर्ने दृष्टिकोण फरक रहेको भन्दै त्यसप्रति चिन्ता व्यक्त गर्नुभयो। कार्यालयमा पर्याप्त स्रोतसाधन र कर्मचारीको जनशक्ति नभएका कारण राज्यले अपेक्षा गरेअनुसार सेवा प्रवाह गर्न अझै कठिनाइ भइरहेको उहाँले बताउनुभयो।
“हामी पनि सुधारको प्रयासमा छौँ। गुनासोरहित सेवा प्रवाहका लागि लागिपरेका छौँ,” गौतमले भन्नुभयो।
राज्यले लेखापढी व्यवसायीलाई पनि सम्मानित पेसाका रूपमा लिनुपर्ने बताउँदै उहाँले भूमि प्रशासन कार्यालयलाई बिचौलियारहित बनाउनुपर्नेमा जोड दिनुभयो। “भूमि प्रशासन कार्यालयले राजस्व उठाइदिन्छ, राजस्व स्थानीय तहमा जम्मा हुन्छ तर कार्यालयलाई बजेट नै हुँदैन। यस्तो अवस्थामा काम गर्न समस्या हुन्छ,” उहाँले भन्नुभयो।
गौतमले भूमि प्रशासन कार्यालयलाई बिचौलियारहित बनाउन लेखापढी व्यवसायीहरू पनि चनाखो हुनुपर्ने बताउनुभयो। समाजमा केही व्यक्तिले अनावश्यक टीकाटिप्पणी गर्ने प्रवृत्ति रहेकाले त्यसप्रति सजग रहन व्यवसायीहरूलाई उहाँले आग्रह गर्नुभयो। सेवाग्राहीका समस्या छिटोछरितो रूपमा समाधान गर्दै सुशासन कायम गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो।
नेपाल लेखापढी व्यवसायी एसोसिएसन इकाइ समिति तुलसीपुरका अध्यक्ष विनोद न्यौपानेले ‘जेन–जी’ आन्दोलनका कारण प्रभावित भएका लेखापढी कानुन व्यवसायीहरूलाई राज्यले विभिन्न बहानामा दुःख दिने गरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। आन्दोलनका क्रममा आफ्ना साथीहरूले लाखौँ रुपैयाँ बराबरका भौतिक सामग्री गुमाएको अवस्थामा समेत राज्यबाट थप पीडा दिने काम भएको उहाँले बताउनुभयो।
अध्यक्ष न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारणसभाको उद्घाटन सत्रमा समितिका सल्लाहकार सेवकराम आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव तिलकराम शर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।


