२०८३ असोज ९ गते शुक्रवार

दाङमा सबै सवारी साधन संचालनमा पूर्ण राेक


दाङ, ९ असोज । लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाभर सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरेको छ।
जिल्ला प्रशासन कार्यालय दाङले आज साँझ साढे ६ बजे जारी गरेको सूचनामा दाङ जिल्ला र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले बाढी, पहिरो र डुबानलगायतका विपद्जन्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाएको छ।
यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न अर्को सूचना जारी नभएसम्म दाङ जिल्लाभित्र सम्पूर्ण सवारी साधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइएको सूचनामा उल्लेख छ।
प्रशासनले विपद्को जोखिमलाई ध्यान दिँदै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
सूचनामा आपत्कालीन अवस्थाका लागि प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय दाङ तथा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गर्न सकिने जनाइएको छ। जिल्ला प्रशासन कार्यालय दाङले पनि पछिल्लो समय मनसुन प्रतिकार्यसम्बन्धी समन्वय तथा विपद् तयारीका गतिविधि गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस