दाङ । घोराही–७,सौडियारको माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको तीन वर्षे कार्यकाल पूरा भएपछि निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष निशान दाजु भट्टराईले आफ्नो कार्यकालमा भएका काम तथा गतिविधिको विवरणसहित विद्यालय व्यवस्थापन समितिको माइन्युट नवनिर्वाचित बिब्यस अध्यक्ष इश्वरि बुढासहितको नयाँ टिमलाई हस्तान्तरण गर्नुभएको छ ।
माइन्युट हस्तान्तरण गर्दै निवर्तमान अध्यक्षले आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय सुधारका लागि आफू र आफ्नो टिमले गरेका कामहरू त्यस क्षेत्रको समुदाय, राजनीतिक दल, शिक्षाप्रेमी, समाजसेवी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूका लागि जगजाहेर रहेको बताउनुभयो ।
उहाँले आफ्नो कार्यकालमा गर्न बाँकी रहेका कामको मूल्यांकन गर्ने जिम्मेवारी स्थानीय समुदायसहित सम्बन्धित सरोकारवालालाई नै रहेको उल्लेख गर्दै आफू अब व्यवस्थापन समितिको जिम्मेवारीमा नरहे पनि विद्यालयले आवश्यक ठानेको जुनसुकै समयमा विद्यालयको हितमा साथ र सहयोग गर्न सदैव तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘समाजमा मभन्दा पनि राम्रा, जान्ने, बुझ्ने र विज्ञ व्यक्तिहरू हुँदाहुँदै पनि मलाई विश्वास गरेर एकपटक विद्यालय व्यवस्थापन समितिको नेतृत्व गर्ने अवसर दिनुहुने सम्पूर्णप्रति यस अवसरमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु,’ उहाँले भन्नुभयो –‘कुराले होइन, पदमा बसेर प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गरेर पनि युवाहरू अब्बल छन् भन्ने कुरा पुष्टि गर्ने अवसर पाएँ ।’
सामुदायिक विद्यालयमा इच्छाशक्ति, दृढ संकल्प र बलियो आत्मविश्वासका साथ काम गर्न सके आफ्नै पालामा परिवर्तन सम्भव रहेको उहाँको भनाइ थियो ।
विद्यालयको विकास र सुधारका लागि आफूले सकेको योगदान गर्न पाएकोमा खुसी व्यक्त गर्दै उहाँले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिनुभयो ।
‘सामुदायिक विद्यालयमा हाम्रै पालामा परिवर्तन सम्भव छ भन्ने यथार्थलाई थोरै भए पनि टेवा पुग्ने गरी काम गर्न पाएकोमा म खुसी छु।’ उहाँले भन्नुभयो–‘अब विद्यालयको समग्र हित, विकास र शैक्षिक उन्नतिका लागि नयाँ नेतृत्वलाई आफ्नो पूर्ण सहयोग रहनेछ ।’


