दाङ, १७ भदौ । भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि तुलसीपुर चेम्बर अफ कमर्सले ५१ हजार १५१ रुपैयाँ सहयोग गरेको छ । संस्थाका अध्यक्ष ऋषिराज भण्डारीका अनुसार बाढीपीडितको राहतका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको हो । प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति व्यहोर्नुपरेका नागरिकलाई राहत पुग्ने उद्देश्यले संस्थाले सहयोग गरेको अध्यक्ष भण्डारीले बताउनुभयो।
व्यापारी तथा व्यवसायीहरूको हकहितका लागि काम गर्दै आएको तुलसीपुर चेम्बर अफ कमर्सले सामाजिक उत्तरदायित्व अन्तर्गत विपद्का बेला सहयोग गर्दै आएको जनाएको छ । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकहरूलाई तत्काल राहत आवश्यक रहेकाले संस्थागत रूपमा सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष भण्डारीको भनाइ छ ।
समस्या परेको समयमा सबैले आफ्नो क्षमता अनुसार सहयोग गर्नुपर्ने बताउनुभयो । विपद् कुनै व्यक्ति, समुदाय वा क्षेत्रको मात्रै समस्या नभएकाले मानवीय संवेदनाका आधारमा सबैले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ। संस्थाले यसअघि पनि देशका विभिन्न स्थानमा भएका प्राकृतिक विपत्ति तथा अन्य मानवीय समस्याका समयमा राहत तथा सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।
संस्थाले व्यवसायिक हकहितसँगै सामाजिक सेवाका क्षेत्रमा पनि आफ्नो भूमिका निर्वाह गर्दै आएको अध्यक्ष भण्डारीले बताउनुभयो। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण ठूलो क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, व्यवसायी तथा सर्वसाधारणले सहयोग गर्दै आएका छन्।


