रोल्पा, ३१ साउन । अविरल वर्षाका कारण रोल्पामा पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ । लुङग्री गाउँपालिका–५ धैरेनीमा साउन ३० गते राति परेको लगातारको वर्षापछि आएको पहिरोले घर पुरिँदा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो ।
प्रहरी चौकी किलाचौर रोल्पाका अनुसार आफ्नै घरमा सुतिरहेको अवस्थामा माथिबाट खसेको पहिरोले गुरुङलाई पुरेको थियो । घटनाबारे आज बिहान ३ बजे खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
पहिरोमा च्यापिएर मृत अवस्थामा टाउकोको भाग मात्र देखिएकाले स्थानीयवासी र प्रहरीको संयुक्त टोलीले उद्धार कार्य जारी राखेको प्रहरीले जनाएको छ ।
यससंगै रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । बुधबारदेखि आइतबारसम्म चार दिनको अवधिमा थवाङ गाउँपालिका, सुनछहरी गाउँपालिका र लुंग्री गाउँपालिकामा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिकामा पहिरोमा परी एक जना अझै वेपत्ता छन् ।


