२०८३ साउन २५ गते सोमवार

कपुरकोटमा नि:शुल्क आँखा शिविर : ५२ जनाको मोतियाविन्दूको नि:शुल्क शल्यक्रिया हुने


सल्यान, २४ साउन । कपुरकोट गाउँपालिका आधारभूत अस्पताल र स्वास्थ्य शाखाको आयोजना तथा राप्ती आँखा अस्पताल, तुलसीपुर दाङको प्राविधिक सहयोगमा एक दिने नि:शुल्क आँखा शिविर तथा चस्मा वितरण कार्यक्रम सम्पन्न भएको छ।

​कपुरकोट गाउँपालिका वडा नं. ३ मा आयोजना गरिएको उक्त शिविरको उद्घाटन वडा नं. ३ का वडा अध्यक्ष तथा स्वास्थ्य समितिका अध्यक्ष प्रदिप खड्काले गर्नुभएको थियो।

​शिविरमा कूल १७६ जनाले आँखा जाँच गराएका छन्। सेवा लिनेहरूमा ९३ जना महिला र ८३ जना पुरुष रहेका छन्। जाँच गराएकामध्ये ५२ जनामा मोतियाविन्दूको समस्या देखिएकाले उनीहरूलाई नि:शुल्क शल्यक्रियाका लागि छनोट गरिएको छ।

​साथै, दृष्टि सम्बन्धी समस्या भएका ७३ जना बिरामीलाई नि:शुल्क चस्मा वितरण गरिएको कपुरकोट आधारभूत अस्पतालमा कार्यरत अहेव टिका आचार्यले जानकारी दिनुभयो।

​गाउँघरमै नि:शुल्क आँखा जाँच, चस्मा र शल्यक्रियाको व्यवस्था मिलाइएपछि स्थानीयवासीहरू हर्षित भएका छन्।

प्रकाशित मिति : २०८३ साउन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस