२०८३ साउन २२ गते शुक्रवार

तुलसीपुरमा माेटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा एक युवक मृत फेला


तुलसीपुर, २२ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँका एक युवक आफ्नै मोटरसाइकलसहित दुर्घटनाग्रस्त अवस्थामा घर नजिकै मृत फेला परेका छन्।


मृतक स्थानीय २८ वर्षीय राजेन्द्र केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीले जानकारी दिनुभयाे ।


प्रहरीका अनुसार केसी रा ३ ख ५००४ नम्बरको मोटरसाइकलसहित सडक किनारमा लडेको अवस्थामा फेला परेका थिए। मोटरसाइकल उनको खुट्टामाथि च्यापिएको अवस्थामा थियो।


डीएसपी पराजुलीका अनुसार छिमेकीको घरको भित्तामा ठोक्किएर गेटमा लागेपछि मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा पल्टिएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनाका बेला उनले हेल्मेट नलगाएकाले चोट गम्भीर भएको हुन सक्ने प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार दुर्घटना बिहीबार राति करिब ११:१५ बजे भएको अनुमान गरिएको छ। घटना घर नजिकै भए पनि रातभर कसैले थाहा पाएनन्। शुक्रबार बिहान दूध वितरण गर्न आएका स्थानीयले युवकलाई लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।


परिवारका एक्ला सन्तान रहेका केसी अटो चालकको रूपमा काम गर्दै आएका थिए। घरमा पेट्रोल सकिएपछि पेट्रोल ल्याउन भन्दै मोटरसाइकल लिएर सुकौरातर्फ गएका उनी फर्किने क्रममा घर नजिकै दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।


मृतकको शव पोस्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस