सल्यान, २१ असार । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. २ दहखोलामा एकदिने निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । दहखोलास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा शनिबार आयोजित शिविरमा ३३६ जना स्थानीय नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा लिएका छन् ।
छत्रेश्वरी गाउँपालिकाको स्वास्थ्य शाखा र वडा नं. २ को आयोजना तथा पुष्पन हेल्थ केयर तुलसीपुर, दाङको प्राविधिक सहकार्यमा उक्त शिविर सञ्चालन गरिएको हो ।
ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आयोजित शिविरमा विभिन्न रोगका विशेषज्ञ डाक्टरहरूले सेवा प्रदान गरेका थिए ।
शिविरमा पुष्पन हेल्थ केयरका सञ्चालक समेत रहनुभएका डा. पुष्पराज रिजालले भिडियो एक्सरे सेवा प्रदान गर्नुभएको थियो भने डा. बिनोद सिंहले स्त्री रोग सम्बन्धी र डा. शिशिर पोख्रेलले नाक, कान, घाँटी रोग सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नुभएको थियो ।
आफ्नै गाउँघरमा विशेषज्ञ डाक्टर र भिडियो एक्सरे सहितको सेवा निःशुल्क रूपमा पाएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । विशेषगरी आर्थिक अवस्था कमजोर भएका र स्वास्थ्य चौकीसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाहरू यस शिविरबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।





