२०८३ असार १८ गते बिहिवार

राप्ती आँखा अस्पताल, नेत्रज्योति प्राविधिक शिक्षालयमा विद्यार्थी तथा अभिभावकका लागि अभिमुखीकरण कार्यक्रम

दाङ, १८ असार । राप्ती आँखा अस्पताल, नेत्रज्योति प्राविधिक शिक्षालय, तुलसीपुरको आयोजनामा नवआगन्तुक नेत्र सहायक (अफ्थाल्मिक साइन्स) अध्ययनरत विद्यार्थी तथा उनीहरूका अभिभावकहरूका लागि अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

शिक्षालय प्रमुख तथा सह–प्राध्यापक डा. रञ्जितकुमार साहाको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघ, दाङका सह-सचिव प्रणवकुमार खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षालयको नीति, नियम तथा शैक्षिक गतिविधिबारे अफ्थाल्मिक साइन्सका संयोजक तथा दृष्टि विशेषज्ञ ओमप्रकाश यादवले जानकारी गराउनुभएको थियो।

कार्यक्रममा नेत्र विशेषज्ञ तथा अध्ययन, अनुसन्धान एवं तालिम संयोजक डा. बिनिता केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। शुभकामना मन्तव्यका क्रममा नेपाल नेत्रज्योति संघ, दाङका सदस्यहरू सुरेन्द्रबहादुर खड्का, ध्रुव गौतम, ताराप्रसाद पोख्रेल, नेत्र विशेषज्ञ डा. सुमित पाण्डे ,गुरुजजुर माध्यमिक विद्यालयका प्राचार्य विष्णुकुमारी केसी, राप्ती आँखा अस्पतालका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत शालिग्राम गौतम, नेत्र अधिकृत बिमल घिमिरे, लेखा अधिकृत कृष्ण भट्टराई तथा अभिभावक प्रमोद सुवेदी लगायतले विद्यार्थीहरूलाई सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गर्दै अनुशासन, लगनशीलता र सेवाभावका साथ अध्ययन गर्न आग्रह गर्नुभएको थियो।

राप्ती आँखा अस्पताल, नेत्रज्योति प्राविधिक शिक्षालय, तुलसीपुरबाट अध्ययन पूरा गरेका नेत्र सहायक (अफ्थाल्मिक साइन्स) विद्यार्थीहरू नेपालका विभिन्न सरकारी तथा निजी अस्पताल, आँखा अस्पताल, आँखा उपचार केन्द्र तथा सामुदायिक स्वास्थ्य संस्थाहरूमा सेवा प्रदान गर्दै आएका छन्। शिक्षालयले उत्पादन गरेका दक्ष जनशक्तिले ग्रामीणदेखि शहरी क्षेत्रसम्म गुणस्तरीय आँखा स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्। व्यावहारिक तथा गुणस्तरीय शिक्षामा जोड दिँदै आएको यस शिक्षालयबाट उत्पादित जनशक्तिले देशभित्र मात्र नभई विदेशमा समेत आफ्नो व्यावसायिक दक्षता प्रदर्शन गरिरहेका छन्।

कार्यक्रममा नवआगन्तुक विद्यार्थी तथा अभिभावकहरूलाई शिक्षालयको शैक्षिक प्रणाली, व्यावसायिक आचारसंहिता तथा भविष्यका अवसरबारे जानकारी गराइएको थियो।

प्रकाशित मिति : २०८३ असार १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस