रोल्पा, २८ जेठ । रोल्पामा आज बिहान मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार माडि गाउँपालिका वडा नं. १ पात्ले स्थित बल्ले–झिनुवा भित्री सडक खण्डमा गुडिरहेको मिनी ट्रक दुर्घटनामा परेको हो ।
बल्लेखोला देखि आलु लिएर पोखरातर्फ जाँदै गरेको रा १ ख ३०४५ नम्बरको मिनी ट्रक गुडिरहेकै अवस्थामा अचानक सडक भासिएर दुर्घटना भएको हो । ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको छ ।
दुर्घटनामा परी गाडीमा सवार सल्यानको बागचौर नगरपालिका वडा नं. ४ दुदिलाबोट निवासी ४७ वर्षीय चन्द्र बहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै, दुर्घटनामा परी मिनी ट्रकका चालक दाङको बबई गाउँपालिका वडा नं. ५ जौबारी बस्ने ४२ वर्षीय नोखिराम वली घाइते हुनुभएको छ । उहाँको ढाडमा सामान्य चोट लागेको र अवस्था सामान्य रहेको छ । चालक वलीलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



