तुलसीपुर, ३० वैशाख ।
चलचित्र रोल नं. १ को प्रचार प्रसारका लागि आएको कलाकारको टोलीसँग चलचित्र पत्रकार संघ दाङले मंगलबार तुलसीपुरमा पत्रकार भेटघाट तथा साक्षात्कार कार्यक्रम गरेको छ ।
चलचित्रमा विद्यार्थी जीवनमा आइपर्ने अवस्थाबारे देखाउन खोजिएको चलचित्रका मुख्य कलाकार मुकुल भुसालले बताउनुभयो । चलचित्रको कथावस्तु मुख्यरुपमा शिक्षा, गरिबी, पारिवारिक संघर्ष र सपनाको यात्रामा केन्द्रित रहेको छ ।
चलचित्रले नेपालको ग्रामीण परिवेशको एउटा परिवारको कथा प्रस्तुत गर्छ । जहाँ आर्थिक अभाव, सामाजिक सीमितता र कठिन जीवन परिस्थितिका बावजुद पनि आफ्ना सन्तानलाई पढाएर सफल बनाउने अभिभावकको सपना देखाइएको कलाकार भुसालले बताउनुभयो ।
चलचित्रमा गाउँमा गुणस्तरीय शिक्षामा पहुँच कति चुनौतीपूर्ण छ, गरिब परिवारले छोराछोरीको पढाइका लागि कस्ता त्याग गर्नुपर्छ र एउटा बालकले आफ्ना अभिभावकको सपना पूरा गर्न कसरी संघर्ष गर्छ भन्ने कुरा देखाउन खोजएको छ ।
भावनात्मकरुपमा यो चलचित्रले आमा–बुवाको माया, त्याग र आशालाई गहिरोढंगले प्रस्तुत गर्छ, जसले दर्शकलाई प्रेरणा र भावुकता दुबै दिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
चलचित्र पत्रकार संघ दाङका अध्यक्ष निरला अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा कलाकारहरु सुशांक मैनाली, रेणुनाथ योगी, हास्यकलाकार कर्मा लामा, चलचित्रका मिडिया संयोजक पत्रकार पवन भट्टराईलगायतले मन्तव्य राख्नुभएको हो ।
संघका उपाध्यक्ष भुपेश वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव एकराज भण्डारीले गर्नुभएको थियो । मंगलबार चलचित्रको टोली तुलसीपुर, घोराहीलगायत दाङका विभिन्न विद्यालयहरुमा पुगेर चलचित्रबारे जानकारी गराएको थियो । जहाँ कलाकार, त्यहाँ चलचित्र पत्रकार भन्ने मूल नाराका साथ काम गरिरहेको चलचित्र पत्रकार संघ दाङले कलाकारहरु दाङ आउँदा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।




