२०८३ असार २१ गते आइतवार

कपुरकोटमा दुई दिने कृषि तथा तरकारी खेती व्यवस्थापन तालिम

कपुरकोट, १९ चैत । सल्यानको कपुरकोटमा दुई दिनसम्म कृषि तथा तरकारी खेती व्यवस्थापन तालिम प्रदान गरिएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड, कपुरकोटको आयोजना तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय सुर्खेतको आर्थिक सहयोगमा संचालित दुई दिने कृषि तथा तरकारी खेती व्यवस्थापन तालिम’ प्रदान गरिएको हो ।

चैत्र १८ र १९ गते संस्थाको आफ्नै सभाहलमा संचालित उक्त तालिममा कपुरकोट क्षेत्रका कृषकहरूलाई व्यावसायिक तरकारी खेतीका आधुनिक उपाय र व्यवस्थापनका विषयमा जानकारी गराइएको छ ।

संस्थाका अध्यक्ष डम्बरबहादुर एरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले कृषिमा आधुनिकीकरण र उचित व्यवस्थापनले मात्र किसानको आर्थिक स्तर उकास्न सकिनेमा जोड दिनुभयो ।

त्यसैगरी, विशिष्ट अतिथि कपुरकोट गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रदीप खड्का र वनस्पति अनुसन्धान केन्द्र सल्यानका संयोजक डा. मित्रलाल पाठकले तरकारी खेतीको महत्त्व, सम्भावना र प्राविधिक पक्षबारे प्रकाश पार्नुभएको थियो ।

तालिममा कपुरकोट गाउँपालिका कृषि शाखा प्रमुख गौरव बन्जाडे र टीका राईले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँहरूले सहभागीहरूलाई तरकारी खेतीमा लाग्ने रोग, कीरा नियन्त्रण, माटोको तयारी र बेमौसमी तरकारी खेतीका प्राविधिक सीपहरू सिकाउनुभएको छ ।

तालिममा कपुरकोट क्षेत्रका २५ महिला र ५ पुरुष गरी कुल ३० जना सक्रिय कृषकहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण प्रवन्धक जित प्रसाद आचार्यले गर्नुभएको थियो ।

समापनका अवसरमा सहभागीहरूले यस्ता तालिमले आफूहरूलाई व्यावसायिक बन्न थप हौसला मिलेको बताएका छन्।

प्रकाशित मिति : २०८२ चैत्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस