सल्यान, १० चैत । सुर्खेतकी १६ वर्षिया बालिका ईनिशा विकको हत्याको विरोध र न्यायको माग गर्दै सल्यानको कपुरकोटका महिलाहरूले श्रद्धाञ्जली तथा खबरदारी कार्यक्रम गरेका छन् ।
पीडित परिवारलाई न्याय र दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै आयोजित उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि र महिला अधिकारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा कपुरकोट गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रदिप खड्का, कार्यपालिका सदस्य राधिका ऐरी लगायतका स्थानीय जनप्रतिनिधि र अधिकारकर्मीहरूले सहभागी जनाउँदै घटनाको सत्यतथ्य छानबिन हुनुपर्नेमा जोड दिएका छन् ।
सहभागी महिलाहरूले स्वर्गीय ईनिशा विकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै समाजमा बढ्दो हिंसाप्रति चिन्ता व्यक्त गरेका छन् ।
महिला अधिकारकर्मी कमला घर्तीले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा बोल्दै वक्ताहरूले ईनिशाले न्याय नपाउन्जेल र दोषीलाई कारबाही नभएसम्म दबाबमूलक कार्यक्रमहरू जारी राख्ने चेतावनी दिएका छन् ।

स्थानीय प्रशासनले घटनालाई गम्भीरताका साथ लिई पीडित पक्षलाई न्याय दिलाउनुपर्ने माग समेत गरिएको छ ।




