सल्यान, ८ माघ ।
सल्यानको कपुरकोट गाउँपालिकामा आँखा, नाक, कान तथा घाँटी सम्बन्धी दुई दिने निःशुल्क स्क्रीनिङ तथा शल्यक्रिया शिविर सुरु भएको छ ।
कपुरकोट गाउँपालिकाको आयोजना तथा राप्ती आँखा अस्पताल तुलसीपुर दाङ र विनोजकान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा नेपालगन्ज बाँकेको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
शिविरको आज एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले विधिवत रूपमा उद्घाटन गर्नुभएको हो । दुई दिनसम्म चल्ने यस शिविरमा विशेषज्ञ डाक्टर अजय वैश्य र रन्जित कुमार शाहको टोलीले सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक शल्यक्रिया गरिरहेको छ ।
स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आयोजित यस शिविरमा विशेष गरी वृद्धवृद्धा र अशक्त नागरिकहरूलाई प्राथमिकताका साथ सेवा प्रदान गरिने कपुरकोट स्वास्थ्य शाखा प्रमुख सुवास हमालले जानकारी दिनुभयो ।
आफ्नै गाउँपालिकामा विशेषज्ञ डाक्टरहरूबाट निःशुल्क उपचार पाउने भएपछि स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको छ ।




