२०८३ भाद्र ५ गते शुक्रवार

बालबालिकालाई समय नदिँदा कुलतको जोखिम बढ्यो : मनोविद् डा. कँडेल

हापुरे, ५ माघ । दाङ बबई गाउँपालिका–४, हापुरेस्थित ग्रेट आइडल बोर्डिङ स्कुलको वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ । लुम्बिनी फ्युचर पाथ प्रालिद्वारा सञ्चालित उक्त विद्यालयले विविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रमका साथ आफ्नो उत्सव मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं चर्चित मनोविद् डा. सुशील कँडेलले सम्बोधन गर्दै अभिभावकको समय र चासोको अभावमा विद्यार्थीहरू गलत बाटोमा लाग्ने खतरा बढेको औंल्याउनुभयो । ‘अभिभावकले आफ्ना बालबालिकालाई पर्याप्त समय दिए उनीहरू कुलतमा फस्ने सम्भावना नै रहँदैन’ डा. कँडेलले भन्नुभयो–‘अहिले बालबालिकामा देखिने धेरैजसो समस्याको जड घर नै बन्ने गरेको छ ।’

उहाँले अभिभावक स्वयं फेसबुक र टिकटकमा व्यस्त हुने तर बच्चालाई भुलाउन अनावश्यक गृहकार्यको बोझ थुपार्ने प्रवृत्ति गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘समय दिन नसक्ने अभिभावकले बच्चालाई मोबाइलबाट टाढा राख्न सकिरहेका छैनन्, जसले गर्दा उनीहरूको मानसिक विकासमा नकारात्मक असर परिरहेको छ ।’

त्यस्तै, लुम्बिनी फ्युचर पाथ प्रालिका प्रमुख कार्यकारी अधिकृत बामदेव सापकोटाले शिक्षालाई उत्पादन र सीपसँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो–‘शिक्षा किताबी ज्ञानमा मात्र सीमित हुनुहुँदै, हामी विद्यार्थीलाई उद्यमशील र व्यवहारिक बनाउने लक्ष्यका साथ अघि बढिरहेका छौँ ।’

लुम्बिनी फ्युचर पाथका अध्यक्ष मोहन स्वर्णकारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्याब्सन तुलसीपुरका अध्यक्ष डम्बर डाँगी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । विद्यालयका प्रिन्सिपल राजु शर्माले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संयोजक कमल भण्डारीले गर्नुभएको थियो ।

त्यस अवसरमा विद्यार्थीहरूले नृत्य, गीत, नाटक लगायतका विभिन्न सांस्कृतिक प्रस्तुतिहरू मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २०८२ माघ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस