२०८३ असार ७ गते आइतवार

कपुरकोटमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश तथा प्रशिक्षण कार्यक्रम


सल्यान, १६ पुस । सल्यानको कपुरकोट गाउँपालिकामा ‘नेपाली कम्युनिष्ट पार्टी’ले गाउँपालिका स्तरीय पार्टी एकता सन्देश तथा प्रशिक्षण कार्यक्रम गरेको छ ।

हालै केन्द्रीय स्तरमा भएको पार्टी एकताको भावनालाई स्थानीय तह र कार्यकर्ता माझ पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं पूर्वमन्त्री प्रकाश ज्वालाले पार्टी एकताले नेपाली कम्युनिष्ट आन्दोलनमा नयाँ उर्जा थपेको बताउनुभयो । उहाँले कार्यकर्ताहरूलाई एकताको सन्देश गाउँ–गाउँसम्म पुर्‍याउन र आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभयो ।

यस्तै पूर्वमन्त्री टेकबहादुर बस्नेतले विचार र सिद्धान्त मिल्ने कम्युनिष्ट शक्तिहरू एक ठाउँमा आउनु देशको समृद्धिका लागि अनिवार्य रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू भद्रसिंह बुढा, रमेशकुमार मल्ल, नेताहरू रमेशकुमार गौतम, दुर्गाबहादुर पुन, चित्रबहादुर केसी र तिर्थराज बस्नेत लगायत जिल्ला र प्रदेश कमिटीका नेताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा दुर्गाबहादुर पुनले स्वागत मन्तव्य राख्नुभएको थियो भने तिर्थराज बस्नेतले वडा स्तरीय कार्यक्रमको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । जसअनुसार कपुरकोट गाउँपालिकाका विभिन्न वडाहरूमा एकता सन्देश तथा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ ।

वडा नं. ६ मा २० गते, वडा नं. ५ मा २१ गते, वडा नं. ४ मा २२ गते, वडा नं. १ मा २५ गते, वडा नं. २ मा २६ गते र वडा नं. ३ मा २७ गते एकता सन्देश तथा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०८२ पुष १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस