दाङ, १ पुस । दाङमा एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरिएको छ । दाङ जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरेको हो । एम्बुलेन्सको भाडामा मनोमानी गरिने र त्यसको मारमा बिरामी पर्ने गरेको जनगुनासो बढेपछि असोजको २९ गते बसेको समितिको बैठकले भाडादर निर्धारणका लागि उसमिति गठन गरेको थियो ।
उक्त समितिले सरोकारवालासँग छलफल र छिमेकी जिल्लामा लागु गरिएको भाडादर अध्ययन गरेर तयार गरिएको भाडादर जिल्लामा कायम गरिएको हो । जसअन्तर्गत तुलसीपुरदेखि काठमाडौं २३ हजार, चितवन १७ हजार, तुलसीपुर–भैरहवा नौ हजार पाँच सय, तुलसीपुर–बुटवल नौ हजार, तुलसीपुर–नेपालगंज छ हजार एक सय र कोहलपुर पाँच हजार पाँच सय रुपियाँ भाडा तोकिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख एवं जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका सदस्य सचिव टिवी गुरुङले जानकारी दिनुभयो ।
घोराही–काठमाडौं २२ हजार, घोराही–चितवन १६ हजार, घोराही–भैरहवा आठ हजार पाँच सय, घोराही–बुटवल आठ हजार, घोराही–नेपालगंज सात हजार र घोराही–कोहलपुर छ हजार पाँच सय रुपियाँ कायम गरिएको गुरुङले जानकारी दिनुभयो ।
त्यसैगरी घोराही–मुर्कटी चार हजार पाँच सय, घोराही–कमिरेचौर/स्युजा तीन हजार पाँच सय, घोराही–सैघा तीन हजार, घोराही–हासीपुर चार हजार पाँच सय, घोराही–लमही दुई हजार पाँच सय र घोराही–तुलसीपुर सडकखण्डमा दुई हजार दुई सय रुपियाँ भाडादर कायम गरिएको छ ।
लमहीदेखि काठमाडौं २० हजार, लमही–चितवन १४ हजार, लमही–भैरहवा सात हजार, लमही–बुटवल छ हजार पाँच सय, लमही–नेपालगंज छ हजार, लमही–कोहलपुर पाँच हजार पाँच सय रुपियाँ निर्धारण गरिएको समितिका सदस्यसचिव गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले २१ दिनभित्र जिल्लाबाट सञ्चालित सम्पूर्ण एम्बुलेन्सलाई जिपिएस जडान गरेर समितिमा जानकारी गराउन निर्देशन समेत दिएको छ ।


