२०८३ असार २५ गते बिहिवार

जय जीवका द्रष्टा उपेन्द्र पौडेल भारत प्रस्थान : सबै प्राणीलाई बाँच्ने अधिकार र शान्तिको सन्देश फैलाउने उद्घोष

दाङ, २५ मंसिर । तुलसीपुर–७ जीतपुर निवासी समाजसेवी उपेन्द्र पौडेल, जसलाई आज धेरैले ’जय जीव’ अभियानका द्रष्टाका रूपमा चिन्छन् ।

उहाँ अहिले एक महान् सोचका साथ विश्वव्यापी यात्रामा हुनुहुन्छ । यो ब्रह्माण्डमा केवल मानवलाई मात्र होइन, पशुपंक्षी लगायत सम्पूर्ण जीवलाई पनि बाँच्ने अधिकार छ भन्ने मूल दर्शनलाई आत्मसात् गर्दै पौडेलले ‘हिंसाको बाटो त्यागौँ, शान्तिको बाटो रोजौँ’ भन्ने सन्देश फैलाउनु हुँदैछ ।

हालै केही थान कपडा बोकेर भारत प्रस्थान गर्नुभएका पौडेलको उद्देश्य भारतमा पनि यो अभियानलाई व्यापक बनाउनु रहेको छ ।

उहाँको यो यात्रा केवल वैचारिक सचेतनाको लागि मात्र सीमित छैन; यसमा मानवीय सेवाको गहिरो भावना पनि जोडिएको छ ।

भारतका विपन्न नागरिक, विशेषगरी चिसो मौसमले सताएका असहायहरूलाई न्यानो कपडा वितरण गर्ने उहाँको सोचले ’जय जीव’ दर्शनको दायरालाई फराकिलो बनाएको छ ।

सबै जीव खुशी रहुन्, कसैलाई दुःख नहोस् भन्ने उहाँको कामनाले प्राणी मात्रको सेवालाई समेटेको छ ।

सानै उमेरदेखि भावुक र दयालु स्वभावका उपेन्द्र पौडेल मध्यम वर्गीय परिवारमा हुर्किए पनि गरिब, दुःखी र असहायहरूको सेवामा निरन्तर लागिरहनुभएको छ । विक्रम संवत् २०७४ तिर वैदेशिक रोजगारीको अवसर हुँदाहुँदै पनि उहाँको मन सधैँ दीनदुःखीहरूकै सेवामा समर्पित रह्यो ।

कोरोना महामारीको समय होस् या अरु समयमा होस् उहाँले विपन्न समुदायलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिनुभयो । यस मानवीय सेवाको जगमा नै उहाँको ‘जय जीव’ दर्शनले मूर्तरूप लिएको हो । उहाँको बुझाइ छ— ब्रह्माण्डमा रहने कुनै पनि प्राणी स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्छ ।

पौडेलको गहन चिन्तन मानव समुदायबाटै पशुपंक्षीलाई मार्न खोज्ने प्रवृत्ति र त्यसबाट सिर्जित हिंसात्मक गतिविधि तथा मानव–पशु द्वन्द्वतर्फ केन्द्रित छ ।

उहाँको दर्शनले जोड दिन्छ कि जबसम्म मानवले पशुपंक्षीको जीवनलाई सम्मान गर्दैन, तबसम्म समाजमा वास्तविक शान्ति सम्भव छैन ।

सबै जीवलाई बाँच्न दिँदा मात्र समाजमा सद्भाव र सह–अस्तित्वको वातावरण बन्छ ।

’जय जीव’ अभियान आज नेपालको सिमाना पार गर्दै भारतसम्म पुग्नुले यो एक स्थानीय विचार मात्र नभई, सम्पूर्ण विश्वलाई आवश्यक परेको अहिंसा र करुणाको विश्वव्यापी सन्देश हो भन्ने स्पष्ट हुन्छ ।

उपेन्द्र पौडेलको यो निस्वार्थ यात्राले स्थानीय अग्रज समेत खुशी भएका छन् । उहाँको अभियानले हामी सबैलाई एकै प्रश्न गर्छ : ‘के हामीले साँच्चै सबै जीवलाई बाँच्ने अधिकार दिएका छौं त ?

प्रकाशित मिति : २०८२ मङ्सिर २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस