दाङ, ३० कार्तिक । स्थापनाको ८ वर्षपछि आवश्यक कर्मचारीको दरबन्दीको एकिन गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओ एण्ड एम सर्वे सुरु भएको छ ।
साधारणतया संस्था स्थापनासंगै ओ एण्ड एम सर्वे गरिनुपर्नेमा अहिले त्यो काम पहिलोपटक सुरु भएको प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिनुभयो ।
ओ एण्ड एम सर्वेले समग्र संस्थाको सांगठानिक संरचना र आवश्यक जनशक्तिको दरवन्दी तय गर्नेछ ।
हाल शुरू गरिएको ओ एण्ड एम सर्वेमा हालको ३ सय शैया र यसै आर्थिक वर्षदेखि निर्माण शुरू हुने ४०० शैया गरी हालको र भविश्यमा आवश्यक जनशक्ति सम्बन्धी ओ एण्ड एम सर्वे गर्ने रजिस्ट्रार लम्सालले बताउनुभयो ।
ओ एण्ड एम सर्वेमा शैक्षिक कार्यक्रमहरू सन्चालन गर्न बिभिन्न काउन्सिलहरू र चिकित्सा शिक्षा आयोगको मापदण्डलाई पनि आधार मानिने छ ।
‘ओ एण्ड एम’ सर्वे गर्न ढिलो त भएकै हो ।’ रजिष्ट्रार प्रा. श्याम लम्सालले भन्नुभयो–‘तर प्रतिष्ठानलाई व्यवस्थित बनाउन अबका दिन द्रुत गतिमा कार्य अगाडी बढाइनेछ ।’ ओ एण्ड एम सर्वेको नेतृत्व पूर्व सचिव गोपी मैनालीले गर्नुहुने भएको छ ।


