दाङ, २० भदौ । तुलसीपुरमा रहेको ग्रेट अरनिको इङ्लिस सेकेन्डरी स्कुलमा कक्षा ११ मा अध्ययनरत नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
स्कुल सञ्चालक समितिका अध्यक्ष मान बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमममा प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डका कार्यालय प्रमुख कमल प्रसाद अर्यालले विद्यार्थीलाई परीक्षालाई डर होइन रमाइलोका रूपमा लिनुपर्ने सुझाव दिनुभयो ।
उहाँले शिक्षण–सिकाइमा अनुशासन, निरन्तरता र समर्पण आवश्यक रहेको उल्लेख गर्दै अबको पुस्ता नै देश चलाउने जिम्मेवार हुने बताउनुभयो । विद्यालय प्रशासनलाई मोटरसाइकल, मोबाइल र मिनी स्कर्ट प्रयोग नगर्न निर्देशन दिनुभयो ।
प्याब्सन तुलसीपुर नगर समिति अध्यक्ष डम्बर डाँगीले कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै विद्यालयले गरेको आयोजनाले विद्यार्थीलाई थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले शिक्षकले दिएको ज्ञानलाई मेहनतका साथ आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो ।
ग्रेट अरनिकोका पूर्वविद्यार्थी तथा मकै बारी दहर्याम दहर्याम, हरिया काँक्रा कर्याम सर्जक सन्दिप सेन्चुरी र एमटी महर्जनले मनोरञ्जनात्मक प्रस्तुति दिए । त्यस्तै, प्रिन्सिपल विष्णु प्रसाद देवकोटा, दोघरे मावि प्रिन्सिपल सुनिता यादव, विद्यार्थी कृतिका भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले गीत, नृत्य, नाटक, गजललगायतका सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए । कमल प्रकाश शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यसहजीकरण सहजीकरण नारायण भट्टराईले गर्नुभएको हो ।
तुलसीपुरस्थित ग्रेट अरनिको इङ्लिस बोर्डिङ स्कूल यस क्षेत्रकै प्रतिष्ठित विद्यालयमध्ये एक हो । यस विद्यालयमा कक्षा १२ सम्मका विभिन्न संकायमा विद्यार्थी अध्ययनरत छन् । गुणस्तरीय शिक्षा, अनुशासन र सह–पाठ्यक्रमगत गतिविधिमा सक्रियताका कारण विद्यालयले क्षेत्रीय शैक्षिक क्षेत्रमा पहिचान बनाएको एकराज भण्डारीले जानकारी दिनुभयो ।




