दाङ, ३० साउन । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई आवश्यक परामर्श र तालिम प्रदान गर्ने उद्देश्यले ‘द नेक्स्ट एजुकेसन’ को १९औं शाखा शुक्रबारदेखि तुलसीपुरमा सञ्चालनमा आएको छ ।
काठमाडौंमा २१ वर्षअघि स्थापना भएको संस्थाको उद्घाटन तुलसीपुर–५ का वडा अध्यक्ष विरेन्द्रकुमार शाह, प्रमुख कार्यकारी अधिकृत शालीकराम भण्डारी र खिमबहादुर केसीले संयुक्त रूपमा गर्नुभएको हो ।
उद्घाटनमा प्रमुख अतिथि शाहले कन्सल्टेन्सी व्यवसाय पारदर्शी र विधिसम्मत रूपमा सञ्चालन गर्न आग्रह गर्दै विद्यार्थीको भविष्यसँग खेलवाड नगर्न आग्रह गर्नुभयो ।
भण्डारीले संस्था तथ्यपूर्ण र विभेदरहित जानकारीमा केन्द्रित रहने तथा विद्यार्थीलाई विदेश कमाउन होइन, पढ्न जाने वातावरण निर्माणमा सहयोग गर्ने बताउनुभयो ।
अष्ट्रेलिया, न्यूजिल्यान्ड, युके, क्यानडा, अमेरिका, दुबईलगायतका देशमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि उचित परामर्श, आएल्स, पिटिइ र नैतिक शिक्षा कक्षा सञ्चालन हुने शाखा प्रमुख सजलजंग केसीले जानकारी दिनुभयो ।
उहाँले तुलसीपुर शाखा उच्चस्तरीय व्यवस्थापनसहित सुरु भएको र ६ जनाले प्रत्यक्ष रोजगारी पाएको बताउनुभयो । संस्थाको अष्ट्रेलियामा २, श्रीलङ्का र फिलिपिन्समा एक–एक अन्तर्राष्ट्रिय शाखा छन् । पश्चिम नेपालमा नेपालगञ्जपछि तुलसीपुर शाखा सुरु भएपछि विद्यार्थीलाई परामर्शका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको संस्थाले जनाएको छ ।


