२०८३ भाद्र ६ गते शनिवार

नाग पञ्चमी अवसरमा गुरुकुल एकेडेमी तुलसीपुरको सांस्कृतिक कार्यक्रम

तुलसीपुर, १३ साउन । गुरुकुल एकेडेमी, तुलसीपुरले नाग पञ्चमीको अवसर पारेर मंगलबार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । “हाम्रो संस्कृति, हाम्रो पहिचान” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूलाई धर्म, संस्कृति र परम्पराबारे जानकारी गराइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका गुरु प्रेमकुमार आचार्यले नाग पञ्चमी पर्वको धार्मिक, पौराणिक र सांस्कृतिक महत्त्वबारे चर्चा गर्नुभयो ।

उहाँका अनुसार नाग पञ्चमी केवल धार्मिक विधि मात्र नभई सांस्कृतिक पहिचान र प्रकृति संरक्षणको सन्देश बोकेको पर्व हो ।

नागलाई शक्ति, समृद्धि र संरक्षणको प्रतीक मानिँदै आएको उल्लेख गर्दै उहाँले वर्षायाममा सर्पहरू बस्तीमा देखा पर्न थालेपछि सहअस्तित्व र संरक्षणको सन्देश दिनु नै यस पर्वको मूल उद्देश्य रहेको बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीहरूले कविता वाचन, सांस्कृतिक प्रस्तुति तथा धार्मिक प्रश्नोत्तरमार्फत सहभागिता जनाएका थिए । सहभागी विद्यार्थी र अभिभावकहरूले यस्ता कार्यक्रमले नयाँ पुस्तामा धर्म, मूल्य–मान्यता र परम्पराबारे चेतना अभिवृद्धि गर्न ठूलो योगदान पुर्‍याउने धारणा व्यक्त गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण शिक्षक बासुदेव योगीले गर्नुभएको हो । कक्षा २ देखि १० सम्मका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमलाई विद्यालयले आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस