२०८३ मङ्सिर २ गते बुधवार

बालबालिकालाई निर्णय प्रक्रियामा सहभागी गराउनुपर्नेमा जोड


दाङ, ३ साउन । बालबालिकामैत्री समाज निर्माण गर्ने उद्देश्यसहित शनिबार तुलसीपुर उपमहानगरपालिका–८ टिकरीस्थित जनजागरण टोलमा ‘सुनौलो भविष्य’ नामक कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा दाङ भ्याली मावि तुलसीपुरका अध्यक्ष तिलक शाहुले बालबालिकालाई समुदायको निर्णय प्रक्रियामा सहभागी गराउनु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

उहाँले वर्षमा कम्तिमा पनि दुईपटक टोल विकास संस्थाका बैठक तथा छलफलमा बालबालिकालाई बोलाएर उनीहरूको विचार, भावना र आवश्यकतालाई सुन्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अध्यक्ष शाहुले अभिभावकहरूलाई पनि बालमैत्री व्यवहारको पक्षमा सजग हुन आग्रह गर्नुभयो । ‘बालबालिकासँग पर्याप्त समय बिताउनुहोस्, उनीहरूको कुरा सुन्नुहोस्, उनीहरूलाई आवश्यक परामर्श र आत्मबल दिनुहोस्‌’ उहाँले भन्नुभयो–‘मोबाइल र इन्टरनेटको अत्यधिक प्रयोगले बालबालिकाको मानसिक र शैक्षिक विकासमा असर पुर्‍याइरहेको छ, त्यसतर्फ पनि विशेष ध्यान दिन जरुरी छ ।’

कार्यक्रममा जनजागरण टोल विकास संस्थाका अध्यक्ष सुरेश चौधरी, सचिव ताराप्रसाद चौधरी, कोषाध्यक्ष ज्ञानबहादुर बस्नेतले टोलभित्रका बालबालिकाको हितका लागि कार्यक्रम अन्त्यन्त प्रभावकारी भएको बताउनुभयो ।

कार्यक्रममा सहभागी बालबालिकाले पनि आफ्ना अनुभव र भावना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण जीतसागर जी.एमले गर्नुभएको थियो । सहजीकरणको क्रममा उहाँले सहभागीहरूसँग अन्तरक्रिया गर्दै बालमैत्री दृष्टिकोण कसरी विकास गर्ने भन्ने विषयमा छलफल गराउनुभएको थियो ।

कार्यक्रममा स्थानीय अभिभावक, युवा, टोल विकास संस्थाका पदाधिकारी, शिक्षक तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले कार्यक्रमले आफूहरूलाई बालबालिकाको अधिकार, संरक्षण र सहभागिताबारे थप स्पष्टता दिएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २०८२ साउन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस