२०८३ भाद्र १३ गते शनिवार

समाजसेवी बिजय केसीले दिए विपन्न परिवारलाई त्रिपाल

दाङ, २२ असार । शान्तिनगर गाउँपालिका–१ मा वर्षौंदेखि खरको खरको छानामुनि बस्दै आएका विपन्न परिवारलाई समाजसेवी तथा सफल व्यवसायी बिजय केसीले त्रिपाल वितरण गर्नुभएको छ ।

शान्तिनगर–५ काशिपुरका केसीले आफ्नो व्यक्तिगत खर्चमा ५ घरपरिवारका लागि त्रिपाल उपलब्ध गराउनुभएको छ । त्रिपाल वितरण शान्तिनगर–१ का तरुणदल अध्यक्ष प्रेम खड्काको समन्वयमा गरिएको हो ।

वर्षाको समयमा छानोबाट पानी चुहिने र हिउँदमा कठ्याङ्ग्रिने चिसोका कारण स–साना बालबालिका र वृद्धवृद्धालाई सास्ती भोग्नुपरेको स्थानीयको गुनासो छ ।

त्रिपाल पाएपनि समस्याको स्थायी समाधान नभएको उनीहरूको दुखेसो छ ।

त्रिपाल प्राप्त गरेका स्थानीयवासी कालुराम शिरिष मगरले गरिबका लागि धेरै सहयोग हुन्छ भन्ने सुनेपनि आफुले अहिलेसम्म टिनको छानो पाउन नसकेको बताउनुभयो ।

‘पानी चुहिएर पटक–पटक ओत लाग्ने ठाउँ बदल्दै सुत्नुपर्छ ।’ उहाँले भन्नुभयो–‘सानो बालबालिका र वृद्धालाई धेरै समस्या हुन्छ ।’

राज्यले विपन्न तथा खरका छाना भएका घरपरिवारलाई अनुदानमा टिन वितरण गर्ने नीति ल्याएको भए पनि बजेट सीमितताका कारण शान्तिनगरमा सबैले जस्तापाता पाउन सकेका छैनन् ।

प्रकाशित मिति : २०८२ असार २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस