दाङ, ७ असार । बालबालिकालाई असल, अनुशासित र नैतिकवान बनाउ समाज पनि जिम्मेवार बन्नुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
तुलसीपुर–६ श्रीकृष्ण टोल विकास संस्थामा सुनौलो भविष्य कार्यक्रमको २३ औँ श्रृंखला उत्पादनका लागि आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरूले बालबालिकालाई लागुऔषध, कुलत र असामाजिक गतिविधिबाट जोगाउन सामूहिक उत्तरदायित्व आवश्यक रहेकोमा जोड दिएका हुन् ।
कार्यक्रममा टोल विकास संस्थाका सचिव मुना रिजाल, स्वास्थ्यकर्मी रेणु केसी, कोषाध्यक्ष कविता भण्डारी र सल्लाहकार गिरीराज रेग्मी लगायतले समाजको सकारात्मक गतिविधिले पनि बालबालिकाको बानी व्यवहारमा परिवर्तन आउने बताउनुभयो ।
बालबालिका जब चुरोट वा सुर्ती किन्न पसल जान्छन्, त्यहाँ व्यवसायीहरूले पनि सचेत गराउनुपर्छ । किनबेच होइन, चेतना दिनु जरुरी रहेको उनिहरुको भनाई छ ।
बालमैत्री समाज निर्माणका लागि परिवार र समुदायको संयुक्त भूमिका अपरिहार्य रहेको उनिहरुले बताएका छन् ।
कार्यक्रममा दाङ भ्याली मावि तुलसीपुरका अध्यक्ष तिलक शाहुले बालबालिकालाई निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने, खेलकुदको अवसर दिनुपर्ने र अभिभावकले घरमै पर्याप्त समय दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।


