२०८३ भाद्र १३ गते शनिवार

लायन्स क्लब अफ तुलसीपुर इशानद्वारा अति विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण



दाङ, ६ असार । शिक्षाको उज्यालो किरण सँगै शिक्षामा सबैको पहुँच पुगोस् भन्ने उद्देश्यका साथ लायन्स क्लब अफ तुलसीपुर ईशानले एक सराहनीय कार्य सम्पन्न गरेको छ। क्लबले तुलसीपुर–७ डाँडापातुस्थित श्री बालकल्याण प्राथमिक विद्यालयमा अध्ययनरत गरिब तथा अति विपन्न २५ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ।

कार्यक्रम क्लबका अध्यक्ष लायन रमेश रेग्मीको अध्यक्षता र लायन्स डिस्ट्रिक ३२५N का District Executive Chief लायन बुद्धप्रकाश सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। विद्यालयका प्रधानाध्यापक होमबहादुर केसीको विशेष सहभागितामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूलाई झोला, कपी, कलम, पेन्सिललगायतका शैक्षिक सामग्रीहरू प्रदान गरिएको थियो।

“सशक्त बालबालिका नै समृद्ध राष्ट्रको आधार हुन्,” भन्ने मूल नाराका साथ क्लबले विगतदेखि नै बालबालिकामुखी कार्यक्रमहरू सञ्चालन गर्दै आएको हो। उक्त कार्यक्रममा विभिन्न लायन्स पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो, जसले कार्यक्रमलाई थप गरिमामय बनायो।


शिक्षा क्षेत्रको सुधार र बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न यस्ता सामाजिक संस्थाहरूको योगदान प्रेरणादायी र अनुकरणीय बन्न पुगेको छ। क्लबका द्वितीय उपाध्यक्ष दीपक केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण क्लबका सहसचिव सोमराज बस्नेतले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस