२०८३ भाद्र १३ गते शनिवार

सल्यानमा कर्मचारी मिलन केन्द्रको दोस्रो साधारण सभा

दाङ, ११ चैत । सल्यानमा कर्मचारी मिलन केन्द्रले आइतबार दोस्रो साधारण सभा तथा वनभोज कार्यक्रम गरेको छ ।

जिल्लाका विभिन्न सरकारी कार्यालय, सुरक्षा निकाय, स्थानीय तह, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू सहभागी उक्त कार्यक्रम शारदा नगरपालिका–२ स्थित चन्द्रपाला पार्कमा गरिएको हो ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष धिरेन्द्र भण्डारीको अध्यक्षता तथा जिल्ला न्यायाधीश बेद कुमार गिरीको प्रमुख आतिथ्यता एवं प्रमुख जिल्ला अधिकारी साबित्रा पुनको विशिष्ठ आतिथ्यतामा साधारणसभा गरिएको हो ।

साधारण सभामा प्रमुख अतिथि गिरिले यस्ता अतिरिक्त गतिविधिले कर्मचारी वर्गमा ऊर्जा थप्ने र कार्य सम्पादनमा सहकार्य गर्न सजिलो हुने बताउनुभयो ।

यस्तै प्रजिअ पुनले मिलन केन्द्रको आफ्नै भवन निर्माण गरी यस्ता कार्यक्रम सञ्चालन गर्न सकिने सुझाव दिँदै कार्यसमितिलाई त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

साधारण सभाबाट कर्मचारी मिलन केन्द्र सल्यानको उपाध्यक्ष पदमा वनस्पति अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डा. मित्रलाल पाठक सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै सह–सचिवमा त्रिवेणी गाउँपालिकामा कार्यरत तुलसीराम डागी तथा सदस्यहरूमा नेत्रलाल शिक्षालयका मोहन भण्डारी र पूर्वाधार कार्यालयकी पुनम शर्मा चयन हुनुभएको छ ।

कार्यक्रममा १५० भन्दा बढी कर्मचारी सहभागी भएका थिए । कार्यक्रमको संयोजन डिभिजन वन अधिकृत टेकबहादुर रावलले गर्नुभएको थियो भने सञ्चालन मिलन केन्द्रकी सचिव विष्णु शर्माले गर्नुभएको हो ।

कार्यक्रममा नेपाल आर्मीका तर्फबाट बिङ्गो खेल, मिलन केन्द्रको तर्फबाट घैँटो फुटाउने प्रतियोगिता तथा सांगीतिक एवं साहित्यिक प्रस्तुति गरिएको हो ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस