२०८३ मङ्सिर ३ गते बिहिवार

बालबालिकामा मोबाइलको प्रभावबारे सचेतना आवश्यक रहेकोमा जोड


दाङ, १७ फागुन । प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिकामा मोबाइलको प्रभावबारे सचेतना आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् । ‘बालबालिकालाई मोबाइलबाट अलग होइन, सदुपयोगबारे सिकाऔँ’ भन्ने सन्देशसहित तुलसीपुर–५ र ७ को सिमाना श्रद्धानगर र राप्ती टोलमा संयुक्त रूपमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा दाङ भ्याली मावि तुलसीपुरका अध्यक्ष तिलक शाहुले प्रविधिको सहि प्रयोगमा अभिभावकले भूमिका खेल्नुपर्ने बताउनुभयो । बालबालिकाको सुनौलो भविष्यका लागि आर्थिक लगानी गरेरमात्र नहुने भन्दै बालबालिकालाई समय पनि लगानी गर्नुपर्ने बताउनुभयो । ‘मोबाइलको प्रयोगमा समयसीमा तोक्नुपर्छ ।’ उहाँले भन्नुभयो–‘निश्चिम समयमा मात्रै मोबाइल चलाउन दिने र त्यस समयमा पनि ज्ञानवद्र्धक कुरामात्रै हेर्न सिकाउनुपर्छ ।’

त्यस्तै, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का सचिव कर्णबहादुर हमालले मोबाइलको प्रयोग नियन्त्रण गर्नु भन्दा पनि बालबालिकालाई सही तरिकाले यसको प्रयोग गराउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले मोबाइलको माध्यमबाट बालबालिकाले ज्ञानवद्र्धक सामग्री प्राप्त गर्न सक्ने भएकाले यसलाई पूर्ण रूपमा निषेध गर्नु उचित नहुने धारणा राख्नुभयो ।

कार्यक्रममा श्रद्धानगर टोलका अध्यक्ष कृत बहादुर बुढा, सचिव प्रेम केसी, राप्ती टोलका सचिव ओमप्रकाश वली लगायतका वक्ताहरूले पनि बालबालिकाको भविष्य प्रविधिसँग जोडिएको भन्दै त्यसको सकारात्मक उपयोग आवश्यक रहेको बताउनुभयो ।

बालबालिकाको ‘सुनौलो भविष्य’ अभियान अन्तर्गत आयोजना गरिएको कार्यक्रमले असल बालबालिका बनाउन अभिभावक पनि असल संस्कारी हुनुपर्ने उद्देश्य राखेको छ । दाङ भ्याली मावि तुलसीपुरको सहकार्यमा रेडियो हाम्रो पहुँचले टोल टोलमा पुगेर कार्यक्रम सुनौलो भविष्य तयार पार्ने गरेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस