२०८३ मङ्सिर ३ गते बिहिवार

अरनिको टोलमा असल अभिभावक शिक्षा

दाङ, २० पुस । असल र नैतिकवान बालबालिका बनाउन अभिभावकलाई सचेतना प्रदान गर्न थालिएको छ । दाङ भ्याली मावि तुलसीपुर र रेडियो हाम्रो पहुँचको सहकार्यमा अभिभावक सचेतना कार्यक्रम गर्न थालिएको हो ।

यसैअन्तर्गत आज तुलसीपुर–६ स्थित अरनिको टोलमा कार्यक्रम गरिएको हो । टोलका उपाध्यक्ष नारायण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमले अभिभावकहरूलाई बालबालिकाको उचित पालनपोषण, शिक्षाको महत्व र सकारात्मक संस्कार निर्माणको आवश्यकता बारे सचेतना प्रदान गरिएको छ ।

दाङ भ्याली माविका अध्यक्ष तिलक साहुले अभिभावक शिक्षाका मुख्य पक्षहरूबारे प्रकाश पार्दै बालबालिकाको सुन्दर भविष्य निर्माणका लागि असल संस्कार, अनुशासन, र सहयोगी वातावरण अपरिहार्य रहेको बताउनुभयो । उहाँले विद्यालय र अभिभावकको सहकार्यले बालबालिकाको व्यक्तित्व विकास र उज्ज्वल भविष्य सुनिश्चित गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा अभिभावकहरूले आफ्नो भूमिकाको महत्त्वबारे जानकारी लिँदै, व्यावहारिक समस्याहरूका समाधानबारे प्रश्नोत्तर गर्नुभएको हो । कार्यक्रममा टोलवासी अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

दाङ भ्याली माविको सहकार्यमा सञ्चालित ‘सुनौलो भविष्य’ नामक यस अभियानले अभिभावक शिक्षालाई गाउँ–गाउँसम्म पुर्‍याउने उद्देश्य राखेको छ । रेडियो हाम्रो पहुँचको सहजीकरणमा भइरहेको यो अभियानले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा अभिभावकको भूमिकालाई थप सशक्त बनाउन मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८१ पुष २० गते शनिवार
प्रतिक्रिया दिनुहोस