दाङ, १६ भदौ । तुलसीपुर-७ मा रहेको जनसेवा बचत तथा ऋण सहकारी संस्थाले तीजको अवसरमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम गरेको छ । सहकारीका अध्यक्ष जीवन भण्डारीको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि जिसीले तीज पर्वलाई तडकभडकभन्दा पनि मेलमिलाप र संस्कृति संरक्षणको रूपमा लिनुपर्नेमा जोड दिनुभयो । उहाँले संस्कृतिको नाममा विकृति भित्र्याउँदा समाजलाई हानि हुने बताउनुभयो ।
जिसीले नेपाली समाजमा तीजको महत्वलाई संरक्षण गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै, जिसीले सहकारीको माध्यमबाट धेरै महिला आत्मनिर्भर भएको र यस प्रकारका भेटघाट कार्यक्रमहरूले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
संस्थामा बचत गर्ने महिलाहरूको संख्या पुरुषहरूको तुलनामा बढी रहेको छ । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज दाङका सभापति कोमल डिसी, जनसेवा बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष दुर्गा प्रसाद भण्डारी, लेखा समिति संयोजक सुनिल खनाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको हो ।
कार्यक्रमको स्वागत मन्तव्य संस्थाका सहसचिव तथा कार्यक्रम संयोजक विमला शर्माले दिएकी थिइन् भने सञ्चालन संस्थाका सचिव दीपक केसीले गर्नुभएको हो ।


