अमेरिका, १२ भदौ । न्यूयोर्कमा हरितालिका तीजको अवसरमा विशेष कार्यक्रम आयोजना हुने भएको छ । राप्ती सेवा समाज न्यूयोर्कले नेपाली संस्कृतिको संरक्षण, संवर्द्धन गर्दै नयाँ पुस्तालाई नेपाली कला र संस्कृतिसँग जोड्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको हो ।
समाजका अध्यक्ष दिपक भट्टराईका अनुसार प्रवासमा रहेका नेपालीहरूले आफ्ना चाडपर्व, रीतिरिवाज, र संस्कृतिको संरक्षणमा भूमिका खेल्नुपर्ने आवश्यकता महसुस गर्दै नेपाली भेषभूषामा सजिएर यो कार्यक्रम आयोजना गरिएको हो ।
तीज विशेष कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायक तीलक वली, गायिका आशा पुन मगर, गायक दिपेन्द्र डाँगी लगायतका कलाकारहरूको उपस्थिति रहने आयोजक सांस्कृतिक संयोजक चन्द्र वलीले दिनुभयो ।
सेप्टेम्बर ३ मंगलबार तिब्बतियन कम्युनिटी सेन्टर हल, उडसाइड न्यूयोर्कमा साझ ६ बजेदेखि राति २ बजेसम्म हुने कार्यक्रममा दरखाने, एकल तथा सामूहिक नृत्य प्रस्तुति र नेपाली लोक सांस्कृतिक लयमा तीजका प्रस्तुति समावेश हुनेछन् ।
समाजले हालसम्म प्रदेशमा समस्यामा रहेका नेपालीहरूको सहयोगमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । यसपटकको तीज विशेष कार्यक्रम सफल बनाउन सांस्कृतिक संयोजक चन्द्र वलीको संयोजकत्वमा १२ सदस्यीय समिति गठन गरिएको छ । सदस्यता वितरणको जिम्मेवारी महासचिव बसन्त अधिकारी, सचिव तुल्सीराम वली, कोषाध्यक्ष खिम बहादुर वली र सहकोषाध्यक्ष शिशिर रावतलाई दिइएको छ ।


