तुलसीपुर,१० असोज । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा. सम्शेर थापालाई ‘एसीओएन प्रेसिडेन्ट गोल्ड मेडल’बाट सम्मानित गरिएको छ।
एसोसिएसन अफ कम्युनिटी अप्थाल्मोलोजिस्ट्स अफ इन्डिया (ACOIN) को आयोजनामा असोज ८ गतेदेखि ११ गतेसम्म भारतको कोलकातास्थित विश्व बङ्गला कन्भेन्सन सेन्टर, न्यू टाउनमा आयोजित सामुदायिक नेत्ररोग विशेषज्ञहरूको २५औँ अन्तर्राष्ट्रिय भेला तथा १६औँ वार्षिक सम्मेलनका अवसरमा डा. थापालाई ‘एसीओएन प्रेसिडेन्ट गोल्ड मेडल’ अर्थात् अध्यक्षको स्वर्ण पदक प्रदान गरिएको हो।
विगत दुई दशकभन्दा बढी समयदेखि आँखा स्वास्थ्य कार्यक्रमको व्यवस्थापनमा सक्रिय डा. थापाले आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जको विकास, विस्तार र सेवा प्रवाहलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ। नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न प्रदेशमा अन्धोपन न्यूनीकरणका क्षेत्रमा पुर्यावएको योगदान तथा तीनवटै अस्पतालबाट प्रवाह हुँदै आएको आँखा स्वास्थ्य सेवाको विकास र विस्तारमा डा. थापाले निर्वाह गर्नुभएको भूमिकाको उच्च मूल्याङ्कन गर्दै उक्त गोल्ड मेडल प्रदान गरिएको जनाइएको छ।
त्यस्तै, सोही समारोहमा राप्ती आँखा अस्पतालका नेत्र अधिकृत ओपेन्द्र चन्दलाई ‘एसीओएन सेक्रेटरी सिल्भर मेडल’ अर्थात् सचिवको रजत पदकबाट सम्मानित गरिएको छ।
सामुदायिक आँखा स्वास्थ्य सेवाको क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय डा. थापाले उत्कृष्ट योगदान, समर्पण र सेवाका लागि प्राप्त गर्नुभएको यस प्रतिष्ठित सम्मानले नेपाल नेत्रज्योति संघ, सम्पूर्ण संस्था तथा नेपालको आँखा स्वास्थ्य क्षेत्रलाई गौरवान्वित बनाएको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले बताउनुभयो।
सम्मेलनमा भारतका पूर्वराष्ट्रपति रामनाथ कोविन्द प्रमुख अतिथिका रूपमा तथा नेपालका पूर्वराष्ट्रपति डा. रामवरण यादवसहित विभिन्न देशका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


