२०८३ साउन ४ गते सोमवार

कपुरकोट आधारभूत अस्पतालको नयाँ भवन उद्घाटन

सल्यान, १६ जेठ । कपुरकोट गाउँपालिकामा नवनिर्मित १५ शैयाको आधारभूत अस्पताल भवनको आज उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुन र उपाध्यक्ष प्रकाश भण्डारीले संयुक्त रूपमा रिबन काटेर नयाँ भवनको उद्घाटन गर्नुभएको हो ।

नयाँ भवनबाट औपरचारिक रूपमा सेवा सुरु भएसँगै अब स्थानीय नागरिकले आफ्नै पालिकाभित्र भरपर्दो र आधुनिक स्वास्थ्य सेवा पाउने भएका छन् । भवन उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले स्वास्थ्य क्षेत्रलाई पालिकाले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले यो नयाँ सुविधासम्पन्न अस्पताल भवनले कपुरकोटवासीको स्वास्थ्य उपचारमा थप सहजता प्रदान गर्ने र सामान्य उपचारकै लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।

विशेष अवसरमा वृहत् स्वास्थ्य शिविर
यसैबिच, अस्पताल भवन उद्घाटनको विशेष अवसर पारेर कपुरकोट गाउँपालिकाको आयोजना तथा सञ्जीवनी टिचिङ हस्पिटल प्रालि घोराही, दाङको प्राविधिक सहयोगमा एक दिने एकीकृत बृहत् स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ ।

ग्रामीण क्षेत्रका नागरिकलाई गाउँघरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरमा स्थानीयको उल्लेख्य उपस्थिति रहेको छ ।

शिविरमा विशेषगरी टाउको, पेट, छाती, मुटु, कलेजो, सुगर (मधुमेह), प्रेसर (उच्च रक्तचाप) र मिर्गौला सम्बन्धी रोगहरूको विस्तृत परीक्षण एवं परामर्श दिइएको छ।

नागरिकको सहजताका लागि शिविरमा स्वास्थ्य परीक्षण गराएका बिरामीहरूलाई चिकित्सकको सिफारिस बमोजिम आवश्यक औषधिहरू निःशुल्क वितरण भइरहेको छ । यसका साथै, बिरामीको रोग पहिचानलाई प्रभावकारी बनाउन आवश्यक पर्ने ल्याब टेस्ट (प्रयोगशाला) र एक्स–रे सेवा समेत पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस