२०८३ असार २१ गते आइतवार

अनधिकृत संरचना हटाउन ​जिल्ला प्रशासन कार्यालय दाङको निर्देशन


​ दाङ, १७ वैशाख  । जिल्ला प्रशासन कार्यालय दाङले आफ्नो स्वामित्वमा रहेको जग्गामा अनधिकृत रूपमा बनाइएका संरचनाहरू हटाउन २१ दिने सार्वजनिक सूचना जारी गरेको छ।


कार्यालयले घोराही उपमहानगरपालिका वडा नं. १४ र १६ मा रहेको कित्ता नं. ६५१ को १३–१४–३–० (९२८३५.८० व.मि.) क्षेत्रफलको जग्गा खाली गर्न निर्देशन दिएको हो।
​प्रशासनले आज (२०८३ वैशाख १७ गते) एक सूचना प्रकाशित गर्दै उक्त ‘घोराही ७ ख’ अन्तर्गतको जग्गामा अनधिकृत रूपमा घर टहरा निर्माण गरी भोगचलन गरिरहेका व्यक्ति वा संस्थाहरूलाई २१ दिनभित्र भौतिक संरचना हटाउन भनेको छ।

तोकिएको म्यादभित्र संरचनाहरू नहटाएमा प्रशासन आफैँले ती संरचनाहरू हटाउने व्यहोरा सूचनामा उल्लेख गरिएको छ।

जग्गा कब्जा गरी बसेका व्यक्ति वा परिवारहरूमध्ये वास्तविक भूमिहीन वा सुकुम्बासीहरूका हकमा भने प्रशासनले केही लचकता अपनाएको छ।


वास्तविक सुकुम्बासीहरूका लागि अन्यत्र व्यवस्था गर्न सकिने भएकाले त्यस्ता व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित १० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन दिन सूचित गरिएको छ।

​प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालद्वारा हस्ताक्षरित उक्त सूचनामा सरकारी जग्गाको संरक्षण र अतिक्रमण हटाउने अभियानलाई प्रभावकारी बनाउन यो कदम चालिएको उल्लेख छ।

प्रकाशित मिति : २०८३ बैशाख १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस